गृहमन्त्री गुरुङको सुरक्षा प्रमुखसँग दुई घण्टा छलफल, शान्ति सुरक्षा अवस्थाबारे ब्रिफिङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सुरक्षा निकायका प्रमुख र गृह मन्त्रालयका कर्मचारीहरूसँग शनिबार दुई घण्टा छलफल गरेका छन् ।
शनिबार अपराह्न ५ बजेदेखि ७ बजेसम्म गृह मन्त्रालयमा बैठक बसेको हो । बैठकमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्याल तथा गृह मन्त्रालयका कर्मचारीहरू सहभागी थिए ।
गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले बैठकमा शान्ति सुरक्षाको अवस्थाबारे विश्लेषण तथा सुरक्षा निकायबाट सुरक्षा संयन्त्रको अवस्थाबारे ब्रिफिङ भएको जानकारी दिए ।
‘शान्ति सुरक्षाको विषयमा विश्लेषण र सुरक्षा निकायबाट सुरक्षा संयन्त्रको अवस्थाबारे ब्रिफिङ भएको हो,’ काफ्लेले भने ।
उनका अनुसार बैठकमा आगामी बजेटमा समावेश गर्नुपर्ने विषयवस्तुबारे पनि छलफल भएको थियो ।
शुक्रबार मन्त्रिपरिषद् बैठक बसेलगत्तै पनि मन्त्री गुरुङले सुरक्षा निकायसँग छलफल गरेका थिए । त्यसको भोलिपल्ट शनिबार बिहान पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको थियो ।
ओलीको पक्राउपछि नेकपा एमालेले उनको रिहाइको माग गर्दै शनिबार अपराह्न काठमाडौंको माइतीघर–बानेश्वर क्षेत्रमा प्रदर्शन गरेको थियो । देशका अन्य स्थानमा पनि प्रदर्शन भएका थिए ।
स्रोतका अनुसार बैठकमा यही विकसित राजनीतिक तथा सुरक्षा अवस्थाबारे समेत समीक्षा गरिएको थियो । ‘कताकता के–कस्तो भयो भन्ने विषयमा समीक्षा भयो। सुरक्षा परिचालन कहाँ कति भयो, कहाँ पुग्यो वा अपुग भयो भन्नेबारे छलफल भयो,’ स्रोतले भन्यो ।








