‘समाधानमुखी शासन’ को आग्रहसहित डा. भण्डारीको नयाँ सरकारलाई शुभकामना

सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना व्यक्त गर्दै नेता भण्डारीले सरकार गठनलाई केवल सत्ता बाँडफाँडको माध्यम नभई जनताको समस्या समाधान गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिएका छन्

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा चन्द्र भण्डारीले नवनियुक्त प्रधानमन्त्री वालेन्द्र शाह र उनको मन्त्रिमण्डललाई सफल कार्यकालको शुभकामना दिएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना व्यक्त गर्दै नेता भण्डारीले सरकार गठनलाई केवल सत्ता बाँडफाँडको माध्यम नभई जनताको समस्या समाधान गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिएका छन्। उनले समाज र संस्कृति नेपालको साझा धरोहर भएको उल्लेख गर्दै शपथग्रहण समारोहमा त्यसको सम्मान गरिएकोप्रति खुसी व्यक्त गरेका छन्।

उनले सांसदलाई सत्ता सङ्घर्षको थलो नभई जनताको आवाज सुन्ने र प्रभावकारी नीति निर्माण गर्ने मञ्चका रूपमा विकास गर्नुपर्ने धारणा राखेका छन्। प्राकृतिक स्रोत–साधनलाई जनसमृद्धिको आधार बनाउँदै शिक्षा प्रणालीलाई केवल प्रमाणपत्रमा सीमित नराखी अनुसन्धान, सीप र रोजगारीसँग जोड्नुपर्ने आवश्यकता औँल्याएका छन्।

त्यस्तै, भण्डारीले दीर्घकालीन रूपमा अल्झिएका योजनाहरू अन्त्य गर्दै समय सीमा, जिम्मेवारी र जबाफदेहितालाई कडाइका साथ लागू गर्नुपर्ने बताएका छन्। युवाहरूले देशभित्रै भविष्य देख्ने वातावरण निर्माण गर्न, विदेश पलायन रोक्न तथा गाउँघर पुनः जीवन्त बनाउन सरकारको ध्यान जानुपर्नेमा उनले जोड दिएका छन्।

किसानहरूले भोग्दै आएका समस्या समाधान गर्दै अनुदान, मल, बीउ, बजार र उचित मूल्य सुनिश्चित गर्नुपर्ने उल्लेख गर्दै उनले बिचौलियाबाट हुने शोषण अन्त्य गर्न आग्रह गरेका छन्। साथै, सुशासनलाई नारा होइन व्यवहारमा रूपान्तरण गर्न, पारदर्शितालाई संस्कृतिका रूपमा विकास गर्नुपर्ने बताएका छन्।

नेता भण्डारीले असक्षम व्यक्तिलाई जिम्मेवारी दिनु नै भ्रष्टाचारको रूप भएको उल्लेख गर्दै योग्यताका आधारमा नेतृत्व चयन गर्नुपर्ने धारणा राखेका छन्। सीमित राजस्वको अवस्थालाई ध्यानमा राख्दै खर्च कटौती, प्राथमिकतामा आधारित योजना र उत्तरदायी बजेट आवश्यक रहेको उनले बताएका छन्।

उनले ‘म’ भन्दा ‘हामी’ को भावना बलियो बनाउनुपर्ने उल्लेख गर्दै विगतमा देशको सुरक्षा, अस्तित्व र प्रजातन्त्रका लागि भएका त्याग र समर्पणको सधैँ सम्मान हुनुपर्ने बताएका छन्। अन्त्यमा उनले देश, जनता र प्रजातन्त्रका पक्षमा वर्तमान नेतृत्व स्मरणीय बन्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + five =