बालेन क्याबिनेटका पाँच महिला मन्त्री, यस्तो छ उनीहरूको पृष्ठभूमि

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को मन्त्रिपरिषद्का १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ । जसमा ५ जना महिलाहरू रहेका छन् । जसअनुसार कृषि मन्त्रालयको बागडोर गिता चौधरीले सम्हाल्दै छिन भने स्वास्थ्य मन्त्री निशा मेहता बनेकी छिन् ।

त्यस्तै, महिला, बालबालिका मन्त्री सीता वादी बनेकी छिन् भने कानुन मन्त्री सोबिता गौतम र सामान्य प्रशासन मन्त्री प्रतिभा रावल बन्ने भएका छन् ।

पाँच महिला मन्त्रीको पृष्ठभूमि :

कृषि मन्त्री गिता चौधरीलाई गाउँमा नेता भनेर जिस्काउँथे

शुक्लाफाँटा नगरपालिकाकी गिता चौधरी सामान्य कृषक परिवारकी छोरी हुन् । उनका हजुरबुवा कमैया बसेका थिए । कमैया बसे पनि उनले छोराछोरीलाई स्कुल पठाए । बुवा र फुपूहरूले स्कुल गएकै कारण गिताका लागि पढ्न पाउने वातावरण सहज बन्यो ।

स्कुल पढ्दा उनी सानैदेखि बाल क्लब हुँदै युवा क्लबलगायतका विभिन्न संघसंस्थामा आबद्ध हुन्थिन् । गाउँमा बालविवाह रोक्ने विषयमा होस् वा समाजमा हुने गलत विषयमा उनी अगाडि बढेर विरोध गर्थिन्, उनको यही विद्रोही स्वभावले गितालाई साथीभाई र केही गाउँलेले ‘नेता’ भन्दै जिस्काउँथे ।

सानैबाट सामाजिक बेतिथिको विरुद्ध लड्दै आएकी उनले एसएलसी उत्तीर्ण गरेपछि कानुन विषय लिएर स्नातकोत्तर गरिन । जसपश्चात् उनी काठमाडौंमै अधिवक्ताको रुपमा वकालत गर्थिन् भने मानव अधिकारका क्षेत्रमा पनि काम गर्दै आइरहेकी थिइन ।

उनी यूथ एडभोकेसी नेपाल नामक संस्थाकी संस्थापक पनि हुन् । ३३ वर्षीय गितालाई गत निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बनायो । अहिले बालेन क्याबिनेटमा उनी कृषि मन्त्री बनेकी छिन् ।

स्वास्थ्यकर्मी निशालाई स्वास्थ्य मन्त्रालयको बागडोर

बालेन शाह क्याबिनेटबाट स्वास्थ्य मन्त्री बनेकी निशा मेहता पेशाले स्वास्थ्यकर्मी हुन् । उनको घर सुनसरीको इनरुवा हो । उनी नर्स भए पनि रास्वपाको स्थापनाकालदेखि नै राजनीतिमा आबद्ध थिइन् ।

यसअघि २०७९ सालको निर्वाचनमा पनि रास्वपाले निशालाई समानुपातिक सांसद बनाउने प्रयास गरेको थियो । यद्यपि, त्यो प्रयास विफल भयो । यस पटक समानुपातिक सांसद बनेकी निशालाई स्वास्थ्य मन्त्रालयको बागडोर सम्हाल्न दिइएको छ ।

निशा सांसद बन्नु अघि विराटनगरस्थित विराट टिचिङ हस्पिटलमा कार्यरत थिइन् । सांसद बन्नु अघिल्लो दिनसम्म अस्पतालमा कार्यरत उनले सांसद बनेपछि राजीनामा दिएकी थिइन् ।

महिला, बालबालिका मन्त्री सीता वादी : जसले अभावलाई अवसरमा बदलिन

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बागडोर सुदूरपश्चिमकी सीता वादीले सम्हाल्ने भएकी छिन् । उनको घर कर्णाली प्रदेशको सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १४ हो । हाल उनी काठमाडौंको बुढानीलकण्ठ–८ मा बसोबास गर्दै आएकी थिइन् ।

हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक प्रणालीमार्फत निर्वाचित भएकी वादीलाई मन्त्री बनाइएको छ । वादी समुदाय, दलितभित्र पनि अत्यन्तै सीमान्तकृत वर्गमा पर्छ ।

जुन राज्यको नजरबाट सधैँ ओझेलमा परिरह्यो । भेरी नदी किनारमा बालुवा बोक्दै जीविकोपार्जन गर्ने परिवारमा हुर्किएकी उनले कहिले किताब किन्न पैसा पाइनन्, कहिले बस्ने ठाउँको अभाव झेलिन्, त कहिले पेट र पढाइबिच एक रोज्नुपर्ने बाध्यता आइपर्यो ।

तर यिनै कठिनाइले उनलाई रोकेन, बरु अझ बलियो बनाउँदै ल्यायो । १३ वर्षको उमेरमा एउटा संस्थाले उनलाई शिक्षाको अवसर दियो, जसले उनको जीवनमा अर्कै मोड ल्याइदियो । त्यहीँबाट उनले आत्मसम्मानसहित बाँच्ने आधार पाइन् ।

पढ्दै जाँदा उनीजस्तै पीडित बालबालिका र महिलाका लागि केही गर्ने भावना जाग्यो । परिवारबाट टाढा बसेर, अनेक सङ्घर्षबिच उनले समाजसेवामा स्नातक (बीएसडब्लू)को अध्ययन पूरा गरिन् । त्यसपछि स्नातकोत्तर उनले राजनीति शास्त्रमा गरिन ।

‘सुन्दर सहज नेपाल’ नामक संस्था स्थापना गरी बाल संरक्षण, शिक्षा र महिला आर्थिक सशक्तीकरणका क्षेत्रमा उनले थुप्रै काम गरिन् । त्यसैगरी, ‘वादी सस्टेन कम्पनी’ स्थापना गरेर उनले आर्थिक रूपमा पछाडि पारिएका समुदायका लागि दिगो जीविकोपार्जनको बाटो खोल्ने प्रयाससमेत गरिन् ।

कानुन पढेकी सोबिता अब कानुन मन्त्री 

बालेन्द्र शाह नेतृत्वको मन्त्रीपरिषद्मा दुईचोटी प्रत्यक्ष चुनाव जितेकी सोबिता गौतम कानुन मन्त्री बनेकी छन् । २१ फागुनमा सम्पन्न चुनावमा चितवन क्षेत्र नम्बर ३ तथा गत चुनावमा काठमाडौं क्षेत्र नम्बर २ बाट सांसद भएकी गौतम कानुन मन्त्री बनेकी हुन् ।

उनी २०५२ सालमा दोलखाको तामाकोशी गाउँपालिका जामुनेमा जन्मिएकी हुन् । कानुनकी विद्यार्थी गौतमले चितवनको चुनावमा जानु भन्दा अगाडि पनि कानुनको स्नातकोत्तरको परीक्षा दिएकी छन् । उनले त्यसभन्दा अगाडि इजाजतप्राप्त अधिवक्ताको अभ्यास गरिरहेकी थिइन् ।

टेलिभिजन कार्यक्रम निर्माता र प्रस्तोताको रुपमासमेत उनले काम गरिसकेकी छिन् । कानुनको उच्च अध्ययन तथा वकालतको अभ्यास भएकी गौतम कानुन मन्त्री बन्ने पक्का भएको छ ।

प्रतिभा रावल : पत्रकार हुँदै सांसददेखि सामान्य प्रशासन मन्त्रीसम्म

सामान्य प्रशासन मन्त्री प्रतिभा रावल पत्रकारिताबाट सांसद हुँदै मन्त्री बनेकी छिन् । ग्यालेक्सी टेलिभिजनमा कार्यक्रम ‘लालमोहर’को निर्माता थिइन् उनी । तत्कालीन ग्यालेक्सी टिभीका मुख्य व्यक्ति रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना गरेसँगै रावल पनि पत्रकारिता छाडेर राजनीतिमा होमिइन् ।

उनले पत्रकारितामा एक दशकभन्दा बढी समय बिताएकी छिन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐठपुरमा जन्मिएकी उनले एसएलसीसम्मको अध्ययन महेन्द्रनगरमै गरेकी हुन् । ५ वर्षकै उमेरमा बुबाको मृत्यु भएपछि प्रतिभा र उनका दाइलाई आमा माया रावलले अनेक संघर्ष गरेर हुर्काइन् ।

उनले आफूले दुःख गरेर भएपछि छोराछोरीलाई पढाइन् । प्रतिभाकी आमा मायाले महेन्द्रनगरमै पसल खोलेर व्यवसाय गरिन् । त्यसपछि शिक्षण पेसामा लागिन् । त्यसैबाट छोराछोरीलाई पढाइन् । रावलले भारतको चेन्नईबाट पोस्ट ग्राजुएट गरेकी छिन् । रावलले रवि लामिछाने गृहमन्त्री हुँदा उनको सचिवालयमा पनि काम गरेकी थिइन । अहिले उनै रावल सामान्य प्रशासन मन्त्रालयको बागडोर सम्हाल्दै छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =