एफएनसीसीआईका पदाधिकारीलाई दलगत आवद्धता निषेध गर्ने श्रेष्ठको घोषणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले महासंघका पदाधिकारीहरु कुनैपनि राजनीतिक दलमा आबद्ध हुन नदिने व्यवस्था विधानमै समावेश गर्ने घोषणा गर्ने घोषणा गरेका छन् ।
सोमवार काठमाडौंमा आयोजित आसन्न ६० औँ वार्षिक साधारण सभाका लागि प्यानल घोषणा कार्यक्रममा बोल्दै श्रेष्ठले यस्तो घोषणा गरेका हुन् । उनले महासंघका पदाधिकारीहरु राजनीतिक दलहरुसँग आवद्ध भएकै कारण निजी क्षेत्र कमजोर भएको जिकिर गरे ।
उनले अगामी कार्यकालमा निजी क्षेत्रलाई सशक्त बनाउन महासंघको नेतृत्वले उद्योगी व्यवसायीका गुनासा सुन्ने प्रभावकारी संयन्त्र निर्माण गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
उनले आफ्नो अध्यक्षको कार्यकालमा डेटा र अनुसन्धानमा आधारित नीति निर्माणतर्फ अघि बढ्ने स्पष्ट पारे ।
उनले उद्योगीका समस्या पहिचान गरी सरकारसँग सहकार्य गरेर समाधान निकाल्ने भन्दै अब उद्योगी व्यवसायीले हाम्रो कुरा सुनिएन भन्ने अवस्था अन्त्य गर्ने प्रतिवद्धता समेत जनाए ।
उनले गुनासा संकलन, विश्लेषण र नतिजामुखी समाधानका लागि संस्थागत संयन्त्र विकास गर्ने योजना समेत सुनाए ।
श्रेष्ठले ऐन तथा नियम संशोधनका लागि सरकारलाई मात्र दबाब दिने परम्परागत अभ्यास अन्त्य गर्दै सार्वजनिक सरोकारका विधेयकहरू स्वयं संसदमा लैजाने रणनीति अघिका साथ काम गर्ने वचन पनि दिए ।
उनले जिल्ला उद्योग वाणिज्य संघ तथा वस्तुगत समितिहरूमा देखिएको स्रोत अभाव समाधानका लागि स्थानीय तथा प्रदेश सरकारसँग संघीय तहबाट समन्वय गरिने समेत बताए । महासंघको विधानअनुसार ६०औँ साधारणसभाबाट श्रेष्ठ स्वतः अध्यक्ष हुनेछन् ।








