राखेप र मन्त्रालयका कारण फुटबल गतिविधिमा बाधा पुग्योः संकटा क्लव

काठमाडौं । संकटा फुटबल क्लवले राजनीतिक स्वार्थका कारण नेपाली खेलकुदको अविभावकीय संस्था राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाली फुटबलमा नै धराशायी बनाउने काम गरेको आरोप लगाएका छन् ।
श्रम स्वीकृतिबिना विदेशी खेलाडी खेलाएको भन्दै अध्यागमन विभागले सहिद स्मारक महिला लिग र राष्ट्रिय लिग रोक्न निर्देशन दिएपछि नेपालको घरेलु फुटबल ठप्प छ । संकटाले श्रम स्विकृतिका लागि आफूहरूले पटकपटक प्रयास गरे पनि राखेपले राजनीति स्वार्थका कारण रोकेको आरोप लगाएको छ ।
संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधारले करिव दुई महिनादेखि श्रम स्वीकृतिका लागि आवश्यक कागजात दिएपनि अनेक बाहनामा राखेपले रोकेको बताए ।
एउटा व्यक्ती जाँदा श्रम स्वीकृतिका लागि सिफारिस दिने तर संस्थालाई भने रोकेको संकटाको भनाइ छ । राखेप कर्मचारीको खराब प्रवृत्तिकै कारण नेपाली गतिविधि प्रभावित भएको संकटाले आरोप लगाएको छ ।
संकटाले दुई वटा लिगमा महिला र पुरुष टोली निर्माणका लागि झन्डै दुई करोड खर्च गरे पनि राखेपकै कारण त्यो डुब्न लागेको जनाएको छ । संकटाले दुई हप्ताभित्र लिग सञ्चालन गर्न नसके आफूहरूले विदेशी र स्वदेशी दुवै खेलाडीलाई रिलिज गर्ने उल्लेख गरेको छ ।
विदेशी खेलाडीहरूले पटकपटक श्रम स्विकृतिबारे सोध्ने गरेको र त्यसमा आफूहरूले जबाफ दिन नसकेको संकटाले उल्लेख गरेको छ । के हामीलाई पक्राउ गर्छ हो भन्ने विदेशी खेलाडी प्रश्न गर्ने गरेको र त्यसको कारण राखेप नै बनेको उनीहरूको आरोप छ । संकटा क्लबका अध्यक्ष इन्द्रमानले अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको रिस क्लबमाथि थुपारेर राखेपले अन्याय गरेको बताए ।
जतिसक्दो चाडो एन्फा र राखेपलाई समस्या समाधानका लागि उनले आग्रह गरेका छन् । संकटाका अध्यक्ष तुलाधारले श्रम स्वीकृतिका लागि सिफारिस लिन जाँदा खेलकुद मन्त्रालयका सचिवले दुव्र्यवहार गरेको आरोप लगाएका छन् । विदेश खेलाडीमाथि रंगभेदी टिप्पणी गरेको उनले खुलासा गरेका छन् । उनले राखेपका संघ संस्था प्रमुखले पनि गलत व्यवहार गर्ने र झुलाउने काम गरेको उल्लेख गरेका छन् ।
संकटा महिला फुटबल टोलीकी कप्तान यशोदा शाही ठकुरीले लिगका लागि धेरै मिहेनत गरेर लामो समयदेखि तयारी गरे पनि अहिले बिचमा नै अबरोध हुँदा खेलाडीहरू समस्यामा परेको बताइन् । उनले आफूहरूले जतिसक्दो छिटो खेल हुने वातावरण बनाइदिन आग्रह गरेका छन् । विदेशी खेलाडीले कहिले शुरु हुन्छ भनेर सोध्ने गरे पनि आफूले जबाफ दिन नसकेको उनी बताउँछन् ।
राष्ट्रिय लिग खेलिरहेको संकटा पुरुष टोलीका कप्तान टिकेन्द्र थापाले जतिसक्दो चाडो खेल हुने वातावरण बनाइदिने सरोकारावालामा अपील गरेका छन् । प्रशिक्षक रवीन्द्र सिलाकारले एउटा क्लबले आवश्यक सबैपूर्वाधारका साथै बलियो टिम निर्माणका लागि करडौ खर्च गरेको अवस्थामा राज्यले अवरोध पुर्याउनुले नेपाली फुटबल अध्यारोतर्पm धकेलिने सक्ने बताएका छन् ।
संकटाले पछिल्ला समय नेपाली फुटबलमा ठूलो लगानी गर्दै आएको छ । एकेडेमी सञ्चालन र आफ्नै मैदान रहेको संकटाले विभिन्न उमेर समूहका प्रतियोगितामा प्रतिष्पर्धा, शहीद स्मृति महिला लिग र राष्ट्रिय लिगमा टोलीलाई खेलाइरहेको छ ।
महिला र पुरुष दुवैमा विदेशी खेलाडी भित्राएर लिग खेल्न नेपाली फुटबलमा संकटा क्लब मात्र हो । महिला लिग र राष्ट्रिय लिग खेल्न झन्डै दुई करोड बराबरको लगानी गरे पनि राखेपको राजनीति स्वार्थका कारण डुब्न लागेको आरोप लगाएको छ ।








