स्वास्थ्य क्षेत्रमा समस्या पहिचानसहित समाधानको कदम चालेँ: स्वास्थ्यमन्त्री

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले स्वास्थ्य क्षेत्रमा समस्या पहिचानसँगै समाधानका कदम चालेको बताएकी छन् ।
मन्त्रालयमा आज कर्मचारीहरूसँगको कार्यक्रममा उनले औषधि तथा उपकरण खरिद प्रक्रिया, औषधि व्यवस्थापन र स्वास्थ्य बीमाको क्षेत्रमा समस्या पहिचान मात्र नभई समाधानतर्फ पनि काम अघि बढाएको उल्लेख गरिन् । उनले चुनौतीका बीच मन्त्रालयको नेतृत्व सम्हालेको बताउँदै प्राथमिकतामा राखिएका कामले प्रगति हासिल भएको दाबी गरिन् ।
“मैले मन्त्रालयको जिम्मेवारी सम्हाल्दा थाहा थियो मन्त्रालयको काम चुनौतीपूर्ण छ, तर त्यहाँ ठूलो सम्भावना पनि छ,” उनले भनिन्, “आज निर्वाचन सम्पन्न भएको छ र नयाँ सरकार बन्ने अवस्थामा म यहाँबाट बिदा हुँदै गर्दा तपाईंहरूको कामप्रति सम्मान र हामीले सँगै हासिल गरेका प्रगतिप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु ।”
उनले मानसिक स्वास्थ्य, आप्रवासी कामदारको स्वास्थ्य तथा उच्च जोखिम भएका प्रदेशमा मातृ तथा शिशु स्वास्थ्यमा पनि सुधार गरेको बताइन् । “स्वास्थ्य बीमाभित्र झन्डै एक दशकदेखि थुप्रिएका विकृतिका चाङ मसिनोसँग केलाएर सुधारका कार्य अघि बढाइसकेका छौँ,” उनले भनिन्, “यसले बीमाले भोगेको आर्थिक समस्या केही हदसम्म कम हुनेछ ।”
पाँच महिनाको अवधिमा उनले औषधि व्यवस्था विभागको स्तरवृद्धिको योजना, राष्ट्रिय औषधि प्रयोगशालाका लागि नयाँ भवन निर्माणको गुरुयोजना र मन्त्रालयमा औषधि मामिला महाशाखा स्थापनाको प्रारूप तयार पार्ने काम अन्तिम चरणमा पुर्याएकी बताइन् । उनले औषधि क्षेत्रमा गरिएको कामले भविष्यमा गुणस्तर, मूल्य र नवप्रवर्तनको विकासमा ठूलो योगदान दिने विश्वास व्यक्त गरिन् । देशभरका सबै सङ्घीय अस्पतालमा मनोपरामर्श केन्द्र स्थापना गरिएको पनि उनले बताइन् ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिवद्वय डिल्लीराम शर्मा र डा विकास देवकोटा, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा केदारबहादुर ढकाल, मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकी तथा मन्त्रालय मातहतका केन्द्र र अस्पतालका निर्देशकहरूको उपस्थिति थियो ।









