विशेष महाधिवेशन नै काँग्रेस पराजयको मुख्य कारकः श्याम घिमिरे (अन्तर्वार्ता)

काठमाडौं । नेपाली काँग्रेसका नेता श्याम घिमिरेले हालै सम्पन्न निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको लज्जास्पद पराजयको मुख्य जड पार्टीभित्रको आन्तरिक कलह र विशेष महाधिवेशनको विवाद भएको दाबी गरेका छन् ।

उनले निर्वाचनको मुखमा पार्टीभित्र भएको शक्ति संघर्षले जनतामा नकारात्मक सन्देश गएको र त्यसैको परिणामस्वरूप काँग्रेस खुम्चिन पुगेको विश्लेषण गरेका हुन् ।

घिमिरेका अनुसार चुनावको तयारीमा लाग्नुपर्ने समयमा काँग्रेसका नेताहरू ५ महिनासम्म ‘विशेष महाधिवेशन कि नियमित महाधिवेशन’ भन्ने प्राविधिक र कानुनी लडाइँमा अल्झिएका थिए । विशेष महाधिवेशनको नाममा भएका गतिविधिले पार्टीको वैधानिकतामाथि नै प्रश्न उठाएको उनको भनाइ छ ।

निर्वाचन आयोगले नयाँ नेतृत्वलाई आधिकारिकता दिए पनि पार्टीको ठूलो हिस्साले त्यसलाई स्वीकार गर्न नसक्नु नै पराजयको बीउ भएको उनको तर्क छ । प्रस्तुत छ घिमिरेसँग गरिएको कुराकानीको सम्पादित अंश यस्तो छः

अघिल्लो महाधिवेशनले तय गरेको केन्द्रीय समितिको बैठक बोलाउने भन्ने निर्णय भयो भन्ने समाचार आएको छ, के यो सत्य हो ?

त्यो विषयमा मलाई कुनै औपचारिक जानकारी छैन । मेरो विचारमा त्यस्तो औपचारिक रूपमा, आधिकारिक रूपमा बोलाउने भन्ने निर्णय त भएको छैन । तर अनौपचारिक रूपमा साथीहरू अहिले अत्यन्तै ठूलो अन्यमनस्क अवस्थामा छन् । पार्टी नराम्रोसँग पराजित भएको छ । त्यसपछि एकथरी साथीहरू १४ औँ महाधिवेशनबाट निर्वाचित भएर आउनुभएको थियो । उहाँहरू भूमिकाविहीन भएर बसिराखेको अवस्था छ । यो अवस्थामा केही गर्नुपर्छ भन्ने आवाज छ । तर मलाई लाग्दैन कि अहिले आधिकारिक रूपमा त्यस्तो केन्द्रीय समितिको औपचारिक बैठक बोलाइहाल्लान भन्ने कुरा भएको छ । राजनीतिमा अनौपचारिक भेटघाट र सम्पर्क भइरहने कुरा स्वाभाविक हो ।

नेपाली काँग्रेसको विशेष महाधिवेशन भएको कुरा तपाईंलाई थाहा छ कि छैन ?

 विशेष महाधिवेशनको नाममा जे जस्तो भयो, त्यसको परिणाम पनि हामीले भोगिसकेका छौँ । चुनावको मुखमा आएर ५ महिनासम्म पार्टीभित्र झगडा गर्‍यौँ—विशेष महाधिवेशन कि नियमित महाधिवेशन भनेर । यो झगडाले पार्टीभित्रको समग्र एकतालाई खल्बल्यायो र त्यसको सन्देश जनतामा अत्यन्त नराम्रो रूपमा गयो । त्यो निर्वाचनको पराजयका लागि पनि मुख्य कारण बन्यो । गगनजीको नेतृत्वबाट पार्टी अगाडि बढ्दा राम्रो परिणाम आउँछ भन्ने विश्वास थियो, तर त्यो विश्वासको धरातल टुट्यो । अर्को ठूलो क्षति भनेको गगनजीको अनुहारलाई भविष्यमा भोट कलेक्शनका लागि प्रयोग गर्न सकिने सम्भावना पनि समयमै अनावश्यक रूपमा समाप्त भयो । यसले अपूरणीय क्षति भएको मैले बुझेको छु ।

विशेष महाधिवेशन अवैधानिक हो भन्ने मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ, यस अवस्थामा चहलपहल गर्दा असर पर्ला ?

मेरो बुझाइमा अहिले अदालतको निर्णय कुर्नु नै उपयुक्त विकल्प हो । अदालतले ढिलो निर्णय दिने प्रवृत्ति बदल्नुपर्छ । जे फैसला आउँछ, त्यो यथाशीघ्र आउनुपर्छ । फैसला आएपछि पार्टी निष्कर्षमा पुग्छ । जसले नेतृत्व पाए पनि सबै पक्षलाई समेटेर लैजानु पर्छ । काँग्रेस कहिल्यै पनि एक पक्षलाई पन्छाएर अगाडि बढेको छैन । इतिहासमा पनि विभिन्न नेताहरू मिलेर टिकट बाँडेको उदाहरण छ । अहिले पनि एकताबद्ध भएर अघि बढ्नु बाध्यता हो ।

अहिले विशेष महाधिवेशनबाट आएको केन्द्रीय समितिको बैठक बसिरहेको छ, यसले नियमित महाधिवेशन गर्ने निर्णय गरे देउवा पक्षलाई के असर पर्छ ?

नियमित महाधिवेशनमा जानै पर्छ । जुन पक्षले जिते पनि पार्टीलाई एकताबद्ध गरेर जानुपर्छ । होइन भने ‘मेरो मात्र चल्छ’ भन्ने सोचले पार्टीलाई झन् कमजोर बनाउँछ र अर्को निर्वाचनमा झन् खुम्चिने सम्भावना हुन्छ ।

नियमित महाधिवेशनको घोषणा भए समानान्तर अभ्यास त आवश्यक पर्दैन नि ?

समानान्तर अभ्यास आवश्यक पर्दैन । तर आ–आफ्नो टिमलाई जिताउने प्रतिस्पर्धात्मक अभ्यास हुन्छ । त्यो महाधिवेशनको स्वाभाविक प्रक्रिया हो । यदि कुनै पक्षले एकतालाई ओझेल पार्ने प्रयास गर्‍यो भने समानान्तर गतिविधि बढ्न सक्छ, जसले पार्टीलाई थप क्षति पुर्‍याउँछ । अदालतको फैसला आउनुअघि अनौपचारिक छलफल भइरहनु स्वाभाविक भए पनि औपचारिक गतिविधि गर्नु उचित हुँदैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 7 =