सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री रावलको कार्यालयमा तालाबन्दी

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र सिंह रावलको कार्यालयमा तालाबन्दी गरेको छ ।
पूर्व मुख्यमन्त्रीसमेत रहेका रावलको प्रदेश सभा परिसरस्थित दलको कार्यालयमा आइतबार दिउँसो कञ्चनपुरको कृष्णपुर नगर कमिटीले तालाबन्दी गरेको हो ।
युवा संघले रावल लामो समयदेखि सम्पर्कविहीन भएको आरोप लगाउँदै शीघ्र सम्पर्कमा आउन आग्रह गरेको जनाएको छ ।
यसैबीच, सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न अस्पताल व्यवस्थापन समितिमा गरेको नियुक्तिलाई लिएर एमालेभित्र असन्तुष्टि बढेको छ । रावलले पार्टीसँग आवश्यक परामर्श नगरी एकलौटी निर्णय गरेको भन्दै असन्तुष्टि चुलिएको स्रोतले बताएको छ ।
पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीले राजनीतिक नियुक्तिको विषयमा संसदीय दल र प्रदेश सरकारबीच समन्वय नभएको भन्दै पार्टी केन्द्रलाई समेत जानकारी गराइसकेको जनाएको छ ।
प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशीले पनि यस विषयमा केन्द्रलाई जानकारी गराइएको पुष्टि गरे ।
उनका अनुसार अस्पताल व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्य नियुक्त गर्दा दलका नेताले पार्टीमा कुनै परामर्श नगरी निर्णय गरेपछि केन्द्रमा जानकारी गराउनुपरेको हो ।








