दाउन्ने खण्डमा एकतर्फी खुल्यो सडक, पाँच किलोमिटर लामो जाम

काठमाडौं । वर्षा र हिलोका कारण तीन दिनदेखि ठप्प रहेको पूर्वपश्चिम राजमार्गको दाउन्ने सडकखण्ड आइतबार बिहानदेखि एकतर्फी सञ्चालनमा आएको छ । नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका-२ स्थित दाउन्नेमा शुक्रबारदेखि अवरुद्ध भएको यातायात आज बिहानदेखि पालैपालो सञ्चालन गर्न थालिएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक (एसपी) युवराज खड्काका अनुसार सडकमा जमेको हिलो र चिप्लोका कारण रोकिएका सवारी साधनहरूलाई अहिले सुरक्षाकर्मीको निगरानीमा एकतर्फी रूपमा गन्तव्यतर्फ पठाइँदै छ । लामो समयसम्म सडक ठप्प हुँदा अहिले दुम्कीबासको ज्यामिरेसम्म करिब पाँच किलोमिटर क्षेत्रमा सवारी साधनको लामो लाइन लागेको छ ।

नारायणगढ-बुटवल सडक विस्तारको काम चलिरहेको यस खण्डमा वर्षा हुनासाथ सडक हिलो र लेदोले भरिँदा सवारी साधनहरू उकालो चढ्न नसकी अलपत्र पर्ने गरेका छन् । विशेषगरी दाउन्नेको करिब चार किलोमिटर खण्ड निर्माणको काममा ढिलाइ हुँदा यात्रु र चालकहरूले विगत तीन दिनदेखि भोकभोकै सडकमा बस्नुपर्ने बाध्यता सिर्जना भएको थियो ।

अधिकांश भागमा कालोपत्र भए पनि दाउन्नेको कठिन भौगोलिक अवस्था र निर्माणाधीन सडकमा ढल तथा पानी निकासको व्यवस्था नहुँदा सामान्य वर्षाले पनि ठुलो अवरोध निम्त्याउने गरेको छ । प्रहरीले जाममा फसेका सवारी साधनहरूलाई क्रमिक रूपमा सुरक्षित ढंगले अगाडि बढाउने प्रयास गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 11 =