बङ्गलादेशी मुस्लिमहरूले उत्साहका साथ इद-उल-फित्र मनाए

काठमाडाैं । बङ्गलादेशी मुस्लिमहरूले शनिबार धार्मिक उत्साह र हर्षोल्लासका साथ इद-उल-फित्र मनाएका छन् । यस अवसरमा नमाजपछि श्रद्धालुहरूले एकअर्कासँग हात मिलाउँदै र परम्परागत रूपमा अङ्गालो हालेर (मुसाफा गरेर) खुसी साटासाट गरेका थिए ।
शनिबार बिहानैदेखि राजधानी ढाकालगायत देशका विभिन्न भागमा मुस्लिम धर्मावलम्बीहरू इदको विशेष नमाज पढ्न खुला मैदान र मस्जिदहरूमा भेला भएका थिए । यो पर्वले पवित्र रमजान महिनाभरिको व्रत (रोजा) को विधिवत् समापन भएको सङ्केत गर्दछ ।
ढाकाको मुख्य इदको जमात राष्ट्रिय इदगाह (नमाज पढ्नका लागि प्रयोग गरिने खुला मैदान)मा आयोजना गरिएको थियो । यस्तै, बैतुल मुकर्रम राष्ट्रिय मस्जिदलगायत ढाकाका अन्य धेरै मस्जिदहरूबाहिर बिहानैदेखि श्रद्धालुहरूको लामो लाइन देखिएको थियो ।
विगतका वर्षहरूमा जस्तै यस दक्षिण एसियाली मुलुकको सबैभन्दा ठुलो इदको भेला ढाकाबाट करिब ११७ किलोमिटर उत्तरपूर्वमा अवस्थित किशोरगन्ज जिल्लाको शोलाकियामा सम्पन्न भयो । जहाँ लाखौँको सङ्ख्यामा उपस्थित श्रद्धालुहरूले सामूहिक नमाज पढेका थिए ।








