पद्‍मालाई महावीरको जवाफ- आफ्ना नेताले सिकाएजस्तो स्वाँठ र मूर्ख नबन्नू

काठमाडौं । नयाँ राजनीतिक शक्ति र युवा पुस्तालाई ‘तह लगाउने’ भनी नेकपा एमालेकी नेतृ एवं समानुपातिक सांसद पद्मा अर्यालले दिएको अभिव्यक्तिको नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुनले कडा शब्दमा आलोचना गरेका छन् । सामाजिक सञ्जालमार्फत खरो टिप्पणी गर्दै पुनले नेतृ अर्यालको राजनीतिक संस्कार र हैसियतमाथि नै गम्भीर प्रश्न उठाएका हुन् ।

पुराना दल र तिनका नेताहरूको कार्यशैलीबारे युवा तथा वृद्धवृद्धा सबै जानकार रहेको उल्लेख गर्दै पुनले आफ्ना नेताले सिकाएजस्तो ‘स्वाँठ र मूर्ख’ नबन्न अर्याललाई सचेत गराएका छन् । संसारभरका र नेपालका वर्तमान युवाहरू पुराना नेताभन्दा सयौँ गुणा बढी चेतनशील र चलाख रहेको उनको दाबी छ । नयाँलाई तह लगाउने दम्भ देखाउँदा युवाहरूले उल्टै पुराना सोच भएका गफाडी नेताहरूलाई कसरी तह लगाउने भन्ने राम्रोसँग बुझेको पुनले स्पष्ट पारेका छन् ।

भर्खरै सम्पन्न आम निर्वाचनमा नयाँ पुस्ताले पुराना दलहरूलाई ‘तह लगाइसकेको’ यथार्थ स्मरण गराउँदै पुनले नेतृ अर्यालमाथि कडा प्रहार गरेका छन् । उनले अर्याललाई लक्षित गर्दै लेखेका छन्, ‘चाकरी गरेर समानुपातिक कोटामा आएका तिमी जस्ता कथित पुराना सोचका नेताहरू त्यसरी साह्रै अहङ्कारी बन्नु हुँदैन ।’

नेतृत्वमा रहेको अहङ्कारले कसैको भलाइ नहुने भन्दै पुनले पुराना नेताहरूलाई विवेकपूर्ण ढङ्गले नयाँ पुस्तासँग सहकार्य गर्न सुझाव समेत दिएका छन् । वि.सं. २०४६ सालयताको ३५ वर्षमा समयले निकै ठूलो फड्को मारिसकेको अवस्थालाई बुझ्न उनले आग्रह गरेका छन् ।

समयको परिवर्तनलाई आत्मसात् गर्न सुझाव दिँदै पुनले व्यङ्ग्यात्मक शैलीमा भनेका छन्, ‘यस अवधिमा पृथ्वीले सूर्यको धेरै फन्को मारिसकेको छ, यति कुरा थाहा पाएको राम्रो हुन्छ बहिनी र तिम्रा दौँतरीहरूलाई !’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + six =