प्रधानमन्त्रीलाई रक्षा बमको प्रश्न- ‘मेरो हातमा रगत छ कि छैन, जवाफ चाहियो’

काठमाडौं । ‘जेन्जी’ आन्दोलनको नेतृत्व गरेकी अभियन्ता रक्षा बमले आन्दोलनका क्रममा भएका हिंसात्मक घटना र आफूहरूमाथि लागेका गम्भीर आरोपको सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेकी छन् । प्रधानमन्त्रीलाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालमार्फत एक वक्तव्य जारी गरी आन्दोलनको वास्तविकता स्पष्ट पार्न र दोषारोपणको अन्त्य गर्न आग्रह गरेकी हुन् ।

पछिल्लो समय सडक र सामाजिक सञ्जालमा आफू र आफ्ना साथीहरूमाथि निरन्तर दुर्व्यवहार र लाञ्छना लागिरहेको भन्दै उनले सरकारको मौनताप्रति असन्तुष्टि जनाएकी छन् । गलत आरोपका कारण आफूले जीवनभर कलंकको भारी बोक्नुपर्ने स्थिति सिर्जना भएको उल्लेख गर्दै बमले गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएकी छन् ।

वक्तव्यमा उनले प्रधानमन्त्रीलाई प्रश्न गर्दै भनेकी छन्, ‘प्रधानमन्त्रीज्यू, मेरो हातमा रगत लागेको छ कि छैन, म त्यो जान्न चाहन्छु । मैले सिंहदरबार जलाएको हो कि होइन, म त्यो जान्न चाहन्छु । म कतैबाट परिचालित छु कि छैन, यी सबै प्रश्नहरूको उत्तर म पनि खोजिरहेकी छु ।’

बमले शान्तिपूर्ण भनिएको आन्दोलन कसरी एकाएक हिंसात्मक मोडमा पुग्यो भन्ने विषयमा गम्भीर प्रश्न उठाएकी छन् । उनले प्रदर्शनकारीमाथि गोली चलाउने आदेश कसले दियो र सिंहदरबारमा आगजनी गर्ने वास्तविक व्यक्ति को थियो भन्ने तथ्य बाहिर आउनुपर्ने माग गरेकी छन् ।

आफ्नो बचाउ गर्दै उनले व्यक्तिगत रूपमा स्पष्टीकरण दिएर मात्र अब सम्भव नहुने भन्दै राज्यले नै आधिकारिक प्रतिवेदनमार्फत यथार्थ सार्वजनिक गर्नुपर्ने जिकिर गरेकी छन् । ‘न्याय पर्खिरहेका आँखाहरू तपाईँतिरै फर्किएका छन् । इतिहासले तपाईँलाई कसरी सम्झिने भन्ने निर्णय आज तपाईँकै हातमा छ,’ उनले भनेकी छन् ।

पीडितहरूको आवाजलाई बेवास्ता नगर्न आग्रह गर्दै उनले सरकारको जवाफदेहिता नै न्यायको पहिलो आधार भएको उल्लेख गरेकी छन् । आन्दोलनसँग जोडिएका भ्रमहरू चिर्न र दोषीलाई कानुनी दायरामा ल्याउन प्रतिवेदन सार्वजनिक गर्नु सरकारको जिम्मेवारी भएको उनको ठहर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + five =