टिकटकमा ‘अमेरिकी सेना’ बनेर ठगी गर्ने स्याङ्जाका युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत आफूलाई ‘अमेरिकी आर्मी’ को नक्कली पहिचान दिएर ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्याङ्जाको बिरुवा गाउँपालिका–२ स्थायी घर भएका ३४ वर्षीय भेषराज वाग्लेलाई प्रहरीले काठमाडौंको थानकोटबाट पक्राउ गरेको हो ।
आफ्नो वास्तविक नाम लुकाएर ‘विशाल थापा क्षेत्री’ को नामबाट सक्रिय वाग्लेले विशेषगरी महिलाहरूलाई लक्षित गरी ठगी धन्दा चलाउँदै आएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार वाग्लेले सुरुमा टिकटकका माध्यमबाट महिलाहरूसँग चिनजान गर्थे । त्यसपछि ह्वाट्सएपमा संवाद अगाडि बढाउँदै आफू अमेरिकी सेनामा कार्यरत रहेको र हाल नेपालमा बिदा मनाउन आएको भन्दै विश्वासमा लिने गरेका थिए ।
कुराकानीका क्रममा उनले जग्गाको कर तिर्न समस्या परेको वा आफ्नो बैंक खातामा ‘लिमिट’ लागेको जस्ता विभिन्न बहाना बनाएर रकम माग गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । “आफू अप्ठ्यारोमा परेको स्वाङ पारेर उनले विभिन्न व्यक्तिबाट रकम असुल्ने गरेको पाइयो,” अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए ।
चन्द्रागिरि नगरपालिका–७, थानकोटबाट समातिएका वाग्लेलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
पछिल्लो समय सामाजिक सञ्जालमार्फत हुने ठगीका घटनाहरू बढ्दै गएपछि प्रहरीले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । अपरिचित व्यक्तिसँग सामाजिक सञ्जालमा आर्थिक कारोबार नगर्न र कसैको प्रलोभनमा नपर्न प्रहरीले सचेत गराएको छ ।









