इरानले कस्टडीमा लिएका नेपाली नागरिकको परिचय खुल्यो, अमृतले पठाए यस्तो सन्देश

काठमाडौं । इरानी सुरक्षा फौजले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुलेको छ । इरानमा तेल लिन जाने क्रममा हर्मुज क्षेत्रको बन्दर अब्बास बन्दरगाहबाट नियन्त्रणमा लिएका नेपालीको परिचय खुलेको हो ।
पक्राउ पर्ने उदयपुरको गाईघाटका ३० वर्षीय अमृत झा रहेको खुलेको छ । अमृतकी दिदी पूजा झाका अनुसार, आठ दिनअघि एउटा अपरिचित नम्बरबाट ह्वाट्सएपमा आएको ‘भ्वाइस मेसेज’मार्फत उनी पक्राउ परेको जानकारी परिवारले पाएको थियाे । सन्देशमा अमृतले आफू र अन्य केही भारतीय नागरिकलाई इरानी सेनाले हिरासतमा राखेको बताएका छन् ।
दुई वर्षअघि वैदेशिक रोजगारीका लागि दुबई पुगेका अमृत त्यहाँस्थित ‘ब्ल्याक सी मरिन एलएलसी’ कम्पनीको जहाजमा कार्यरत थिए । ‘गत जनवरी १२ मा अन्तिम पटक फोन हुँदा काम सकिन लागेको र सिधै नेपाल आउने बताएको थियो,’ पूजाले भनिन्, ‘अचानक भाइ पक्राउ परेको खबरले हामी स्तब्ध छौँ । उसको सुरक्षित रिहाइका लागि पहल गरिदिन कन्सुलर विभागमा निवेदन दिएका छौँ ।’
परराष्ट्र मन्त्रालयको पश्चिम एसिया महाशाखाका प्रमुख रामकाजी खड्काले एक नेपाली इरानी सेनाको नियन्त्रणमा रहेको पुष्टि गरेका छन् । यद्यपि, इरान सरकारले औपचारिक रूपमा यसबारे जानकारी नदिएको उनले बताए । कतारस्थित नेपाली दूतावासले यसबारे इरानी पक्षसँग थप बुझ्ने प्रयास गरिरहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय अमेरिका र इजरायलसँगको बढ्दो तनावका कारण इरानले हर्मुज जलघाटी भएर चल्ने पानीजहाजहरूमाथि निगरानी र नियन्त्रण कडा पारेको छ । अन्तर्राष्ट्रिय समुद्री संगठन (आईएमओ) का अनुसार सो क्षेत्रमा करिब ३२ सय जहाज र २० हजारभन्दा बढी श्रमिकहरू अलपत्र परेका छन् । त्यहाँ फसेका श्रमिकहरूले खाद्यान्न र खानेपानीको अभाव झेलिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।








