कर हटाउन माग गर्नेले कहाँ लगाउने भन्ने विकल्प पनि दिनुपर्छ: अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर हटाउन माग गर्नेले त्यसको विकल्प पनि दिनुपर्ने बताएका छन् ।
बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा भएको आर्थिक विधेयक, २०८३ माथिको दफावार छलफलका क्रममा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।
कर संकलनबिना राज्य सञ्चालन गर्न नसकिने उल्लेख गर्दै उनले कर हटाउनुपर्ने माग गर्नेहरू सांसदहरूलाई कर कहाँ कहाँ लगाउने हो भन्ने सुझाव दिन पनि आग्रह गरे ।
उनले सरकारले नागरिकलाई असर पर्नेगरी कहीँ पनि कर नलगाएको पनि दाबी गरे । सरकारको लक्ष्य प्रतिस्पर्धा बढाउने, लागत घटाउने र भौतिक पूर्वाधार विकासमा सहजीकरण गरेर उपभोक्ताले तिर्नुपर्ने मूल्यलाई घटाउनेमा रहेको उनको भनाई छ । करका विषयमा वैकल्पिक र व्यवहारिक सुझाव आएमा त्यसलाई सम्बोधन गर्न सरकार तयार रहेको उनले बताए ।
उनले भने ‘कर नै नउठाईकन राज्य चल्दैन, कहीँ त उठाउनुपर्यो । माननीयज्यूहरूलाई मेरो विनम्र अनुरोध छ, कर उठाउन हुँदैथियो भन्दै गर्दा कहाँ उठाउनुपर्ने हो, त्यो पनि सुझाव दिनुहोला, सुझाव चाहिँ त्यस्तोमा आयो भने राम्रो होला । हामीले गर्ने प्रतिस्पर्धा बढाउने, लागत घटाउने, भौतिक पूर्वाधारमा राज्यले सहजीकरण गरोस् ताकी उपभोक्ताले तिर्ने कर मूल्यमा समायोजन भएर आओस् । मर्म त्यो हो, तर कहीँ पनि कर लगाऊँ भन्यो भने यो अलि अप्ठ्यारो नै कुरा हो । यसमा माननीयज्यूहरूले उन्नत विकल्प दिनुभयो भने म आगामी सालको आर्थिक विधेयकमा यसलाई सम्बोधन गर्नेछु ।’
उनले दूरसञ्चार, शिक्षा, स्वास्थ्य क्षेत्रमा लगाएका कर दुर्गममा सोही क्षेत्रको पूर्वाधार निर्माणको लागि प्रयोग गरिने बताए ।








