विधि र प्रक्रियाबाट मात्रै संविधान संशोधन सम्भवः उपसभापति भुसाल

काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले विधि र प्रक्रियाबाट मात्रै यो संविधानको संशोधन सम्भव रहेको बताएकी छन् । बिहीवार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक विचार गोष्ठीमा उनले यस्तो बताएकी हुन् ।

वर्तमान संविधान सङ्घीय लोकतान्त्रिक गणतन्त्रबाट राजनीतिक रूपान्तरण भएको र संविधानको रक्षाको लागि विधि र प्रक्रियाबाट मात्रै संविधान अगाडि बढ्नुपर्ने उनले बताइन् । आगामी तीनै तहको निर्वाचनमा प्रत्यक्षतर्फ कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न पार्टी नेतृत्वसँग आग्रह गरिन् ।

उपसभापति भुसालले समावेशिता र समानुपातिक प्रतिनिधित्वको संवैधानिक मर्मलाई आत्मसात् गर्दै कांग्रेसले महिला सहभागितामा ठोस कदम चाल्नुपर्ने बताउँदै वडा अध्यक्षदेखि पालिका प्रमुख, प्रदेश सभा र प्रतिनिधि सभासम्मकै प्रत्यक्ष निर्वाचनमा महिलाहरूलाई ३३ प्रतिशत उम्मेदवार बनाउनुपर्नेमा जोड दिइन् ।

‘पार्टी सभापतिले आगामी स्थानीय निर्वाचनमा कम्तीमा ६ जना महिलालाई प्रमुखको उम्मेदवार बनाउने घोषणा गर्नुभएको छ, जुन सकारात्मक छ,’ उनले भनिन्, ‘तर अब वडा तहदेखि केन्द्रसम्मकै सबै प्रत्यक्ष निर्वाचनमा ३३ प्रतिशत महिलालाई प्रतिस्पर्धामा उतारेर कांग्रेसले आन्तरिक लोकतन्त्रको नयाँ अभ्यास प्रारम्भ गर्नुपर्छ ।’

उनले विगतमा प्रतिनिधि सभामा महिला उम्मेदवारको सङ्ख्या ५ बाट बढेर ११ पुगे पनि त्यो पर्याप्त नभएको उल्लेख गर्दै पार्टीको साङ्गठनिक संरचनामा समेत समानुपातिक समावेशी अनुहारको उचित प्रतिनिधित्व हुनुपर्ने माग गरिन् । संविधानको रक्षा र कार्यान्वयनका सन्दर्भमा बोल्दै उपसभापति भुसालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि संविधानको संरक्षण अनिवार्य रहेको बताइन् । संविधान गतिशील दस्ताबेज भएकाले यसको संशोधन विधि र प्रक्रियासम्मत ढङ्गले हुनुपर्ने उनको तर्क छ ।

नेपाली कांग्रेसले संविधानका न्यूनतम आधारभूत मूल्य र मान्यतालाई आत्मसात् गर्दै आफ्नो दृष्टिकोण तय गरिरहेको जानकारी दिँदै उनले राजनीतिक रूपान्तरणका उपलब्धिहरू जोगाउन पार्टी प्रतिबद्ध रहेको स्पष्ट पारिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + seven =