वन क्षेत्रलाई अर्थतन्त्रको मुख्य खम्बा बनाउनुपर्छः अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले नेपालको अर्थतन्त्रमा वन क्षेत्रको भुमिका महत्वपूर्ण रहेको बताउँदै यसलाई मुलुकको समृद्धिको आधार बनाउनुपर्नेमा जोड दिएका छन् ।
शुक्रवार संघीय संसद भवनको प्राङ्गणमा वृक्षारोपण कार्यक्रममा सहभागी हुँदै उनले वन क्षेत्रलाई मुलुकको समृद्धिको आधार बनाउनुपर्नेमा जोड दिएका हुन् । मन्त्री खनालले मन्त्रालयमा हुँदा वन क्षेत्रले नेपालको अर्थतन्त्रमा पुर्याउन सक्ने योगदानबारे नजिकबाट बुझ्ने अवसर पाएको बताए ।
वन क्षेत्रको योगदानलाई अगाडि बढाउन सरकारले आधा दर्जनभन्दा बढी महत्वपूर्ण कदमहरू चालिसकेको जानकारी दिए । नेपालको पर्यटन क्षेत्रबाट हुने आम्दानीको ठूलो हिस्सा वन क्षेत्रकै कारण प्राप्त हुने मन्त्री खनालको भनाइ छ ।
नेपालका ट्रेकिङ रुटहरूमा विदेशी पर्यटकहरू जानुको मुख्य कारण पनि यहाँको वन र प्राकृतिक सौन्दर्य नै रहेको उनले उल्लेख गरे ।
उनले नेपाललाई विश्वमा चिनाउन ‘बायोस्फेयर रिजर्भ’ घोषणा गर्न सकिने थुप्रै क्षेत्रहरू रहेको र यस विषयमा वन मन्त्रालयका अधिकारीहरूसँग छलफल भइरहेको समेत बताए ।
मन्त्री खनालले वनको क्षेत्रफल बढेकोमा मात्र खुशी नभई, त्यस अनुरुप मुलुकको अर्थतन्त्रमा वनलाई क्षति नपुग्ने गरी कसरी योगदान पु¥याउन सकिन्छ भन्ने विषयमा आगामी कार्यक्रम र नीतिहरू निर्देशित हुनुपर्नेमा जोड दिए ।









