बिहीवारदेखि राजनीतिक दललाई संसदीय दलको कार्यालय उपलब्ध गराएका छौँः प्रवक्ता गिरी

काठमाडौं । संघीय संसद सचिवालयले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने ६ वटा राजनीतिक दलहरुलाई संसदीय दलको कार्यलय उपलब्ध गराएको छ ।
सचिवालयले बिहीवारदेखि राजनितिक दलहरुलाई कार्यालय उपलब्ध गराएको प्रवक्ता एकराम गिरीले जानकारी दिए । संसदीय दलका कार्यालय व्यवस्थापन चुनौतीपूर्ण देखिएपनि उपलब्ध स्रोतसाधनभित्रै रहेर कार्यालय व्यवस्थापन गरिएको उनले बताए ।
उनले दलका प्रतिनिधिहरुलाई कार्यलयको प्रत्यक्ष अवलोकन गराइएको जानकारी दिए । उनकाअनुसार ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका लागि पहिला नेपाली कम्युनिष्ट पार्टीले प्रयोग गर्दै आएको कार्यालय उपलब्ध गराइएको छ ।
यस्तै अन्य दललाई संख्याअनुसार स्थान बाँडफाँट गरिएको सचिवालयले जनाएको छ । सचिवालयले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथग्रहण चैत १२ गते दिउँसो २ बजे गर्नेगर तयारी पनि गरेको छ ।
सचिवालयका प्रवक्ता एकराम गिरीकाअनुसार सांसदहरुको शपथग्रहण अगाडी ज्येष्ठ सदस्यको पहिचान गरी राष्ट्रपतिसमक्ष सपथ गराइनेछ । त्यसपछि ज्येष्ठ सदस्यले अन्य सांसदहरूलाई शपथ गराउने उनले जानकारी दिए ।
निर्वाचन आयोगले निर्वाचन परिणाम सचिवालयमा पठाउने बित्तिकै ज्येष्ठ सदस्यको पहिचान गर्ने उनले बताए । ज्येष्ठ सदस्य पहिचान गरेर शपथग्रहणको लागि ३ जनाको नाम राष्ट्रपति कार्यलय पठाइने उनले जानकारी दिए । उनकाअनुसार राष्ट्रपतिले सबैभन्दा ज्येष्ठ एक सदस्यलाई शपथग्रहण गराउने छन् ।
सचिवालयले बिहीवार संसदमा प्रतिनिधित्व गर्ने ६ वटा राजनितिक दलहरुसंग शपथग्रहण, कार्यलय व्यवस्थापन तथा अभिमुखीकरण कार्यक्रमका बारेमा छलफल गरेको थियो ।
छलफलमा सांसदहरुको अभिमुखीकरण कार्यक्रमबारमा पनि दलहरूसँग सुझाव लिएको उनले जानकारी दिए । उनकाअनुसार सैद्धान्तिकभन्दा व्यवहारिक पक्षमा केन्द्रित तालिम आवश्यक रहेको दलहरुले सुझाव दिएका छन् । सचिवालयले ती सुझावका आधारमा कार्यक्रमको स्वरूप तय गर्ने उनले जानकारी दिए ।









