राजेश हमालको नाममा ‘डकुमेन्ट्री’ बहाना: पालिका अध्यक्षसहित ४ जनालाई भ्रष्टाचार मुद्दा

काठमाडौँ । महानायक राजेश हमालको नाम दुरुपयोग गरी वृत्तचित्र निर्माणको बहानामा भ्रष्टाचार गरिएको प्रकरण सार्वजनिक भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेसँगै घटनाको विवरण बाहिर आएको हो ।

आयोगका अनुसार अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउद, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह र लेखापाल विमल साउदविरुद्ध सार्वजनिक सम्पत्ति दुरुपयोग गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको छ । यसै प्रकरणमा रामजी लम्साल (रामबहादुर लम्साल) लाई पनि प्रतिवादी बनाइएको छ ।

राजेश हमालको नाम जोडेर चलचित्र निर्माण गर्ने भन्दै १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा १२ लाख ७७ हजार दुई सय ५० रुपैयाँ भुक्तानी गरिएको आयोगले जनाएको छ । तर, उक्त प्रक्रियामा सार्वजनिक खरिद ऐन तथा नियमावलीको गम्भीर उल्लङ्घन भएको ठहर गरिएको छ ।

अनुसन्धानका क्रममा बिना प्रतिस्पर्धा सोझै खरिद सम्झौता गरिएको, कानुनी सीमाभन्दा बढी ३५ प्रतिशतसम्म पेस्की दिइएको र बैंक ग्यारेन्टी नलिई रकम भुक्तानी गरिएको खुलेको छ । आयोगका प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको विज्ञप्तिअनुसार पेश गरिएका बिलसमेत शङ्कास्पद र नक्कली रहेको पाइएको छ ।

आयोगले योजनाबद्ध मिलेमतोमा काम नै नगरी सरकारी रकम हिनामिना गरिएको निष्कर्ष निकालेको छ । अध्यक्ष प्रकाशबहादुर साउदले आफ्नो पदको दुरुपयोग गरी आफू तथा अन्य प्रतिवादीलाई लाभ पु¥याउने बदनियतले काम गरेको ठहर गर्दै थप सजायको मागसमेत गरिएको छ ।

अन्य प्रतिवादीहरूविरुद्ध पनि भ्रष्टाचार निवारण ऐनको दफा १७ र २२ बमोजिम बिगो असुलउपरसहित हदैसम्मको सजाय माग गर्दै आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + seven =