गगनलाई दिल निसानीको सन्देश- ‘चुनाव हार्नु फौजदारी अभियोग होइन, निर्णय फेर्नुस्’

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा पार्टीले व्यहोरेको हार र व्यक्तिगत पराजयको नैतिक जिम्मेवारी लिँदै नेपाली कांग्रेसका सभापति गगन थापाले दिएको राजीनामामाथि लेखक दिल निसानी मगरले कडा टिप्पणी गरेका छन् । चुनाव हार्नुलाई कुनै फौजदारी अभियोग वा नैतिक पतन मान्न नसकिने तर्क गर्दै मगरले थापालाई आफ्नो राजीनामाको निर्णयमाथि पुनर्विचार गर्न आग्रह गरेका हुन् ।

मगरले सामाजिक सञ्जालमार्फत वर्तमान राजनीतिका विसंगतिपूर्ण दृश्यहरूलाई चित्रण गर्दै थापाको राजीनामाको औचित्यमाथि प्रश्न उठाएका छन् । ‘खरबौँ सम्पत्तिमा आगजनी गरेर पनि कारको सनरुफ (Sunroof) बाट टाउको निकालेर हिँड्नेहरूले चुनाव जितेका छन्,’ मगरले लेखेका छन्, ‘तर तपाईँ खरानी टक्टकाएर उभिएको मान्छे, जो एक समय ज्यान जोगाउन लुकीलुकी हिँड्नुपरेको थियो, उनीहरूका अगाडि हारकै कारण लज्जित हुनुपर्ने कुनै कारण छैन ।’

लेखक मगरले थापालाई आजसम्म कुनै अदालतमा धरौटी बुझाउनु नपरेको र जेल तोडेर निस्किनु नपरेको स्मरण गराउँदै चुनाव हार्नु सांगठानिक अपराध नभएको बताएका छन् । उनले अगाडि भनेका छन्, ‘तपाईँसँग अझै नैतिकता बाँकी नै छ, त्यसैले कृपया राजीनामाबारे पुनर्विचार गर्नुहोस् ।’

मगरले यो निर्वाचनलाई इतिहासकै ‘अनोठो’ संज्ञा दिँदै विजेताहरू समेत बाकसको मत देखेर आश्चर्यचकित बनेको टिप्पणी गरेका छन् । ‘किन, कसरी र कसलाई भोट हालिँदैछ भन्ने कुरामा स्वयम् मतदाता समेत स्पष्ट छैनन्,’ उनले चुनावी परिणामको प्रकृतिमाथि विश्लेषण गर्दै भनेका छन् ।

‘अबकी बार, सय पार’ को महत्त्वाकाङ्क्षी नारासहित चुनावी मैदानमा उत्रिएको कांग्रेस यसपटक प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी कुल ३८ सिटमा खुम्चिएको छ । स्वयं सभापति थापा सर्लाही-४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेशकुमार सिंहसँग फराकिलो मतान्तरले पराजित भएपछि पार्टीभित्र र बाहिर उनको नेतृत्वमाथि प्रश्न उठिरहेको थियो । यसैबीच, थापाको राजीनामाका विषयमा आधिकारिक निर्णय लिन भोलि ६ चैतमा कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =