निर्वाचन सफल पार्न सहयोग गरेकोमा नेकपालाई प्रधानमन्त्री कार्कीले दिइन् धन्यवाद

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज नेपाल कम्युनिस्ट पार्टीलाई पनि निर्वाचन सफल पार्न भूमिका खेलेकोमा धन्यवाद दिएकी छन् ।
नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत नेताहरु प्रधानमन्त्रीको निमन्त्रणामा बालुवाटार आएका थिए ।
उनिहरुबीच हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचन र समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको थियो ।
प्रधानमन्त्री कार्कीले भनिन् ‘तपाईँहरुले निर्वाचनमा भाग लिइदिनुभयो। यो निर्वाचनको पक्षमा वातावरण बनाउनुभयो र मुलुकलाई शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाट निकास दिन सहयोगी भूमिका खेल्नुभयो। यसका निम्ति धेरै धन्यवाद छ ।’
उनले निर्वाचनमा विजय भएका नेताहरुलाई बधाई दिइन् र अन्य नेताहरुलाई अर्कोपटकका लागि शुभकामना दिइन् ।
नेकपाका नेताहरुले प्रधानमन्त्री कार्कीको नेतृत्वमा निर्वाचन सम्पन्न भई देशले निकास पाएको भन्दै बधाई दिए । संयोजक प्रचण्डले भने ‘यो निर्वाचन नभएको भए मुलुक अर्को ठूलो दुर्घटनामा जान्थ्यो। यसमा जुन साहस र मेहनतका साथ तपाईँले काम गर्नुभयो, यो निकै महत्त्वपूर्ण र प्रशंसालायक छ ।’
सुरुकै दिनदेखि आफू र आफ्नो पार्टी निर्वाचनको पक्षमा उभिएको पनि उनले स्मरण गरे । ‘‘हामीले सुरुबाटै निर्वाचनको विकल्प छैन भनेर उभिएका हौँ । इफ बट केही नभनी निर्वाचन हुनुपर्छ भन्ने त्यतिबेला हामी मात्रै थियौँ,’ उनले भने ।
पूर्वप्रधानमन्त्री नेपालले भने ‘प्रधानमन्त्रीमा सुशीला कार्की आउने भन्ने सुनेको दिन निकै राहतको महसुस भएको थियो । तर पछि तपाईँले नआउने भन्नुभयो भन्ने समाचार पनि आयो । त्यस कुराले हामी सबै आत्तिएका थियौँ । तपाईँ आइदिएपछि संविधान बाँच्छ, व्यवस्था जोगिन्छ र अवस्था सम्हालिन्छ भन्ने विश्वास थियो ।’
अस्तव्यस्त अवस्था सम्हालेर ६ महिनाभित्रै चुनाव गराउने कार्य निकै चुनौतीपूर्ण भए पनि प्रधानमन्त्री कार्कीको छवि, इमान र दृढताका कारण सम्पन्न भएको उनिहरुको भनाइ थियो ।









