म हिजो पनि जनताकै लागि उभिएको थिएँ, आज पनि त्यही बाटोमा छुः सुदन गुरुङ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नव निर्वाचित सांसद सुदन गुरुङले आफ्नो पारिश्रमिक घाइते नागरिकहरूको उपचारमा खर्च गर्ने बताएका छन् । उक्त घोषणापछि केही वृत्तबाट आएको ‘पपुलिस्ट’ आलोचनाप्रति उनले आपत्ति जनाउँदै आफ्नो निर्णय नितान्त व्यक्तिगत र सेवामुखी भएको स्पष्ट पारेका छन् ।
सांसद गुरुङले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै आफू विगत १० वर्षदेखि कुनै राज्य सुविधा नलिई आफ्नै पेशा–व्यवसायबाट समाजसेवामा सक्रिय रहेको उल्लेख गरेका छन् । “निस्वार्थ सेवा गर्ने संस्कारको कमी भएकाहरूलाई अरूले गरेको काममा विश्वास नलाग्नु स्वाभाविक हो,” उनले भनेका छन् ।
उनका अनुसार अभावमा रहेका नागरिकलाई सहयोग गर्ने संस्कारमै आफू हुर्किएकोले पारिश्रमिक खर्च गर्ने निर्णय विवेकपूर्ण र व्यक्तिगत भएको हो । उनले बोलेर मात्र होइन, व्यवहारमै यसलाई कार्यान्वयन गर्दै आएको दाबी पनि गरेका छन् ।
“म हिजो पनि जनताकै पक्षमा उभिएको थिएँ, आज पनि त्यही बाटोमा छु र भोलि पनि रहनेछु,” उनले भने । साथै, सस्तो आलोचनाले आफ्नो संकल्प नडगमगाउने भन्दै आफ्नो कामको मूल्यांकन समयले गर्ने विश्वास व्यक्त गरेका छन् ।








