बजारमा कृत्रिम अभाव र कालोबजारी गर्नेलाई कडा कारबाही गर्न मुख्यमन्त्री शाहको निर्देशन

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बजारमा दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थालाई सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न सम्बन्धित निकायहरूलाई कडा निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बसेको सरोकारवाला निकायहरूको बैठकलाई सम्बोधन गर्दै उनले उपभोक्ताको हित संरक्षणमा कुनै सम्झौता नगर्न आग्रह गरेका हुन् ।
मुख्यमन्त्री शाहको अध्यक्षतामा बसेको बैठकले पेट्रोलियम पदार्थ, खाना पकाउने एलपी ग्यास लगायतका अत्यावश्यक वस्तुहरूको आपूर्ति, मूल्य, गुणस्तर र शुद्धताका सम्बन्धमा नियमित सुपरिवेक्षण र बजार अनुगमनलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।
बैठकले प्रचलित उपभोक्ता संरक्षण ऐन तथा नियमावली बमोजिम गठित अनुगमन समितिहरूलाई सक्रिय बनाउँदै बजारमा देखिएका विकृति अन्त्य गर्न जोड दिएको छ । यदि कसैले पेट्रोलियम पदार्थ र ग्यासमा कालोबजारी गरेको, कृत्रिम अभाव सिर्जना गरेको, अत्याधिक मात्रामा भण्डारण (होल्ड) गरेको वा तोकिएको मूल्यभन्दा बढीमा बिक्री गरेको पाइएमा प्रचलित कानुन बमोजिम तत्काल कडा कारबाही प्रक्रिया अघि बढाउन मुख्यमन्त्रीले निर्देशन दिएका छन् ।
यसैगरी, पेट्रोलियम पदार्थ तथा ग्यास उत्पादक उद्योग र वितरकहरूलाई व्यावसायिक इमानदारिता प्रदर्शन गर्न र कुनै पनि गैरकानुनी क्रियाकलापमा संलग्न नहुन बैठकले सचेत गराएको छ । हाल बजारमा पेट्रोलियम पदार्थ र अन्य अत्यावश्यकीय वस्तुहरूको आपूर्तिमा कुनै समस्या नरहेको स्पष्ट पार्दै मुख्यमन्त्री कार्यालयले सर्वसाधारणलाई हल्लाको पछि नलाग्न र विचलित नहुन अनुरोध गरेको छ । सरकारी निकायहरूले आपूर्ति व्यवस्थाको नियमन कार्यलाई प्रभावकारी ढंगले सम्पादन गरिरहेकोले ढुक्क हुन आग्रह गरिएको छ ।
बैठकले पेट्रोलियम पदार्थको मितव्ययी प्रयोग, खपत न्यूनीकरण र वैकल्पिक ऊर्जाको प्रयोगमा जोड दिन जनचेतनामूलक सन्देशहरू प्रवाह गर्ने निर्णय समेत गरेको छ । छलफलमा प्रदेश सरकारका विभागीय सचिवहरू, कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइराला तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान विभागका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।
त्यसैगरी नेपाल आयल निगमका प्रादेशिक प्रमुख मनोहर डी।सी।, सुदूरपश्चिम प्रदेश पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष चक्र मल्ल, कैलाली उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष केशवराज जोशी, ग्यास डिलर्स एसोसिएसनका छविराज भट्ट लगायत निजी क्षेत्रका प्रतिनिधिहरूले बजार व्यवस्थापनमा सरकारी निकायलाई पूर्ण सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाएका छन् । बजार अनुगमनलाई परिणाममुखी बनाउन सरकारी निकाय, व्यावसायिक संघसंस्था र उपभोक्तावादी संस्थाहरूबीचको समन्वयलाई थप मजबुत बनाइने बैठकको निष्कर्ष छ ।








