शंकर पोखरेल भन्छन्- क्षणिक जितले मात्रै राजनीतिक स्थायित्व सुनिश्चित हुँदैन

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले निर्वाचनमा देखिने तत्कालिन लहर वा एक पटकको ठूलो विजयले मात्रै दीर्घकालीन राजनीतिक स्थायित्वको ग्यारेन्टी नगर्ने विचार व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले भारतीय राजनीतिको ऐतिहासिक उदाहरण प्रस्तुत गरी संगठन र जनअपेक्षाको महत्वमाथि प्रकाश पारेका हुन् ।
महासचिव पोखरेलले सन् १९८४ को भारतीय आम निर्वाचनलाई सन्दर्भको रूपमा उल्लेख गरेका छन् । त्यस समयमा भारतीय राष्ट्रिय कांग्रेस (आई) ले ‘राजीव लहर’ का बीच दुई तिहाइभन्दा बढी सिटमा ऐतिहासिक जित हासिल गरेको तर हालको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) भने केवल २ सिटमा खुम्चिएको तथ्य उनले स्मरण गराएका छन् । उनले उक्त समयको ‘राजीव लहर’ लाई नेपालको पछिल्लो निर्वाचनमा देखिएको ‘बालेन लहर’ सँग तुलना समेत गरेका छन् ।
ऐतिहासिक घटनाक्रमको विश्लेषण गर्दै पोखरेलले लेखेका छन्, ‘त्यति ठूलो सफलताका बाबजुद कांग्रेस (आई) क्रमशः कमजोर बन्दै गयो, तर २ सिटमा सीमित भएको भाजपा भने बिस्तारै सशक्त हुँदै अघि बढ्यो । यही निरन्तरको प्रयत्नले आज भाजपा नरेन्द्र मोदीको नेतृत्वमा लगातार तेस्रो कार्यकालका लागि भारतको केन्द्रीय सत्तामा स्थापित हुन सफल भएको छ ।’
महासचिव पोखरेलका अनुसार जनअपेक्षा पूरा गर्ने क्षमता, संगठनको सुदृढीकरण र निरन्तर जनसमर्थन कायम राख्ने ठोस रणनीति नै राजनीतिक सफलताको वास्तविक आधार हुन् । उनले यो शिक्षा जित्ने र हार्ने दुवै पक्षका लागि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरेका छन् । नेपालको पछिल्लो निर्वाचनमा एमालेले कतिपय क्षेत्रमा सोचेभन्दा फरक नतिजा व्यहोरेपछि पार्टीभित्र पुनर्गठन र समीक्षाको बहस चलिरहेका बेला महासचिवको यस्तो टिप्पणी आएको हो ।








