संसद् छिर्नुअघि रास्वपा सांसदको होमवर्क, आज समापन हुँदै अभिमुखीकरण

 काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरेको विशेष अभिमुखीकरण कार्यक्रम आज समापन हुँदैछ । मंगलबारदेखि सुरु भएको यस सत्रमा सांसदहरूलाई संसदीय अभ्यास, नीति निर्माण र सुशासनका विविध पक्षमा प्रशिक्षित गरिएको छ ।

आजको कार्यक्रमको सुरुवात शारीरिक र मानसिक स्फूर्तिका लागि योगाभ्यासबाट भएको छ । एलपी भानु शर्माले सांसदहरूलाई योग र ध्यानको महत्त्वबारे जानकारी गराउँदै अभ्यास गराएका थिए । योगाभ्यासपछिको सत्रमा सरकार सञ्चालनको प्रक्रिया र बजेट निर्माणको प्राविधिक पक्षमा केन्द्रित भएर छलफल हुने कार्यसूची रहेको छ ।

राष्ट्रिय योजना आयोगका पूर्वसचिव डा. तोयानारायण ज्ञवालीले आजको सत्रमा योजना तथा बजेट निर्माण प्रक्रियाबारे सांसदहरूलाई सुसूचित गराउनेछन् । नयाँ सांसदहरूका लागि बजेट कसरी बन्छ र त्यसमा जनसरोकारका विषयलाई कसरी समेट्न सकिन्छ भन्ने विषयमा ज्ञवालीले प्रकाश पार्नेछन् । त्यसैगरी, पूर्वसचिव प्रतापकुमार पाठकले सुशासनको अवधारणा र यसको व्यावहारिक अभ्यासबारे प्रशिक्षण दिने कार्यक्रम छ । सुशासन कायम गर्न संसद् र सांसदहरूको भूमिका कस्तो हुनुपर्छ भन्ने विषयमा उनले विशेष प्रस्तुति दिनेछन् ।

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टी र सांसदबीचको अन्तरसम्बन्ध, आचारसंहिता र न्यूनतम प्रतिबद्धताबारे सांसदहरूलाई जानकारी गराउनेछन् । ‘नयाँ राजनीतिक संस्कारमा सांसदको भूमिका कस्तो हुनुपर्छ र जनताप्रतिको उत्तरदायित्व कसरी निर्वाह गर्ने भन्नेमा हाम्रो जोड रहनेछ,’ बुर्लाकोटीले भने ।

अभिमुखीकरणको अन्तिम दिन आज सांसदहरूले विभिन्न समूहमा विभाजित भई आफ्ना एजेन्डा र प्राथमिकताका विषयमा सामूहिक कार्य (ग्रुप वर्क) समेत गर्नेछन् । समापन सत्रमा पार्टीका युवा (जेनजी) सांसदहरू प्रशान्त उप्रेती र खिमा विकले धन्यवाद ज्ञापन गर्नेछन् । दुई दिने यस प्रशिक्षणको समापन पार्टी सभापति रवि लामिछानेले गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =