पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना

काठमाडौं । नेपालको मौसमी प्रणालीमा अहिले पश्चिमी न्यून चापीय वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मुलुकका विभिन्न भागमा मौसममा फेरबदल भइरहेको छ ।

अहिले कर्णाली प्रदेशसहित गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदलीको अवस्था छ । यस्तै , कोशी , लुम्बिनी र बागमती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहे पनि अन्य भूभागमा भने मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

दिउँसो देशका हिमाली क्षेत्रमा बादलको घनत्व बढ्ने र पहाडी तथा तराईका भूभागमा आंशिक बदली हुने प्रक्षेपण गरिएको छ । यसै क्रममा कोशी , गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार राति सुदूरपश्चिम, लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा बदलीको अवस्था रहनेछ । विशेषगरी सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली क्षेत्रका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना देखिएको छ ।

कोशी प्रदेशका पहाडी र हिमाली भूभाग लगायत गण्डकी र कर्णाली प्रदेशका उच्च हिमाली क्षेत्रका थोरै स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वाआँकलन गरिएको छ । मौसममा आएको यो परिवर्तनसँगै वर्षा र हिमपात हुन सक्ने क्षेत्रका बासिन्दालाई आवश्यक सजगता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =