जनताले भरोसा गरेका छन्, यसलाई जोगाउन जिम्मेवार बनौँ: डा. स्वर्णिम वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीलाई जनताले गरेको ऐतिहासिक विश्वासलाई जोगाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका छन् ।

रास्वपाले आयोजना गरेको सांसदहरूको अभिमुखीकरण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले जनताले अत्यधिक भरोसा गरेर अत्यन्तै बलियो वैधता दिएको बताए । रास्वपाप्रति जनतामा अत्यधिक आशा रहेकोले त्यसलाई कार्यान्वयनमार्फत न्याय गर्नुपर्ने उनको भनाई छ । उनले जनतामा विकास निर्माण र सुशासनको ठुलो हुटहुटी रहेको बताए । त्यसलाई पूरा गर्न रास्वपालाई स्पष्ट म्याण्डेड दिएर पठाएको उनको भनाई छ ।

अब जनताको आकांक्षा र भरोसाबाट भाग्ने छुट पार्टीलाई नभएको उनले बताए । उनले २०१५ सालको पहिलो लोकतान्त्रिक निर्वाचनसँग तुलना गर्दा अहिलेको उपलब्धि ठुलो भएको बताए । त्यसबेला विपी कोइराला नेतृत्वको नेपाली काँग्रेसले स्पष्ट दुईतिहाई बहुमत पाएपनि लोकप्रिय मत ३८ प्रतिशत मात्रै पाएको उनको भनाई छ ।

हालैको निर्वाचनमा रास्वपाले करिब दुईतिहाइ सिटसहित ४८ प्रतिशत लोकप्रिय मत प्राप्त गरेको भन्दै उनले यसलाई अभूतपूर्व जनादेश भएको बताए । उपसभापति वाग्लेले जनादेशलाई जोगाउन विगतका सरकारहरूको अस्थिरताबाट पाठ सिक्नुपर्ने आवश्यकता औँल्याए । २०४८ सालमा नेपाली काँग्रेसको बहुमत सरकार आन्तरिक विवादका कारण पूरा कार्यकाल टिक्न नसकेको उनको भनाई छ ।

२०६४ सालमा माओवादी नेतृत्वको सरकार छोटो समयमै विघटन भएको र २०७४ सालमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को स्पष्ट बहुमत पनि दीर्घकालीन रूपमा टिक्न नसकेको उनले स्मरण गरे । उनले यस्तो बलियो जनादेश नेपालमा अभूतपूर्व रहेको उल्लेख गर्दै यसलाई जोगाउन विगतका कमजोरीबाट सिक्दै स्थायित्व र सुशासनतर्फ अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले भने ‘हालै भएको प्रतिनिधिसभा सदस्यको निर्वाचन ऐतिहासिक रह्यो । त्यो ऐतिहासिक जनमतलाई न्याय गर्ने जिम्मेवारीवोध हामी सबैमा हुनुपर्छ । २००७ सालपछि हामी लोकतान्त्रिक यात्राको उकाली ओरालीमा आरोहअवरोह खेप्दै आएका छौँ । पहिलो लोकतान्त्रिक निर्वाचन २०१५ सालमा भयो, अहिले हामीले हासिल गरेको उपलब्धि त्यो २०१५ सालकै लोकतान्त्रिक निर्वाचनसँग दाँज्न सकिन्छ । तर त्यो भन्दा पनि दुई कदम अगाडी हाम्रा उपलब्धिहरू लिपिबद्ध भएका छन् । २०१५ सालमा विपी कोइराला पहिलो प्रधानमन्त्री हुनुभयो, त्यतिबेला १०९ वटा स्थानमा निर्वाचन भएका थिए । उहाँले नेतृत्व गर्नुभएको दलले ७४ सिट ल्याएको थियो । स्पष्ट दुईतिहाई ल्याएको पार्टीले पनि पपुलर भोट ३८ प्रतिशत थियो । अहिले हाम्रो स्थिति लगभग दुईतिहाई छ, १८२ सिट । तर पपुलर भोट हामीले ५१ लाख नघाएर ४८ प्रतिशत भोट हामीले पाएका छौँ । यो जनादेशलाई असाध्यै गह्रौँ वैधता हामीले लिएका छौँ । यसलाई समालेर, जोगाएर यो आशा, भरोसालाई न्याय गर्ने त्यो ऐतिहासिक जिम्मेवारीबोध हामी सबैमा हुनुपर्छ । २०४८ सालमा स्पष्ट नेपाली काँग्रेसले स्पष्ट बहुमत ल्याएको थियो, आर्थिक सुधारका नीतिहरू पनि राम्रा थिए तर आन्तरिक खिचातानी व्यवस्थापन गर्न नसक्दा पूर्ण ५ वर्ष कार्यकाल टिक्न सकेन । द्वन्द्वलाई व्यवस्थापन गर्दै २०६४ सालमा पनि अर्को यस्तै जनादेश पाएको अर्को सरकार आयो तर माओवादीले ९ महिना पनि सरकार टिकाउन सकेन । २०७४ मा एमाले र माओवादी मिलेर स्पष्ट बहुमत थियो, त्यो पनि लामो समय टिक्न सकेन । तीन वर्षपछि त्यो बिग्रियो । त्यसकारण हामीलाई जुन जनादेश आएको छ, स्कोपको हिसाबले, म्याण्डेडका हिसाबले नेपालमा नै अभूतपूर्व यो हो । यसलाई जोगाउन उहाँहरूबाट हामीले पाठ सिक्नुपर्छ ।’

उनले नवनिर्वाचित सांसदहरूलाई जिम्मेवारका साथ प्रस्तुत हुन पनि सुझाव दिए । उनले पारदर्शी जीवनशैली अपनाउन, जथाभाबी अभिव्यक्ति नदिन, जनताको गुनासालाई ध्यान दिन आग्रह गरे । उनले कानुन तथा नेपालको संविधानलाई गहिरोसँग अध्ययन गर्न पनि सांसदहरूलाई सुझाव दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 15 =