रास्वपा सांसदको अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, फोटो खिच्न पनि नपाइने !

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ ।
पार्टीका तर्फबाट प्रत्यक्ष तथा समानुपातिक प्रणालीमार्फत निर्वाचित सांसदहरूलाई लक्षित गर्दै यही चैत्र ३ र ४ गते कार्यक्रम तय गरिएको हो । पार्टीले जारी गरेको सूचनाअनुसार अभिमुखीकरण कार्यक्रम बिहान १० बजेदेखि सुरु हुनेछ । कार्यक्रम होटल रोयल टुलिपमा सञ्चालन हुने बताइएको छ ।
महामन्त्री कविन्द्र बुर्लाकोटीद्वारा हस्ताक्षरित सूचनामा कार्यक्रम आवासीय हुने उल्लेख गरिएको छ । सांसदहरूको खाना तथा आवासको सम्पूर्ण व्यवस्था पार्टीले नै गर्ने जनाइएको छ ।
त्यसैगरी कार्यक्रम अवधिभर हलभित्र मोबाइल फोन प्रयोग गर्न निषेध गरिएको महामन्त्री बुर्लाकोटीले जानकारी दिएका छन्। कार्यक्रम स्थलमा परिवार सदस्य, साथी वा अन्य पाहुनालाई ल्याउन पनि नपाइने स्पष्ट निर्देशन दिइएको छ ।
पार्टीले कार्यक्रममा सहभागी सांसदहरूलाई कार्यक्रम स्थलमा परिवार सदस्य वा अन्य व्यक्तिसँग भेटघाट, फोटो खिच्ने वा छुट्टै बैठक नगर्न समेत निर्देशन दिएको जनाएको छ ।










