सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौँ प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सुशासन प्रवर्द्धन तथा सेवा प्रवाहलाई प्रभावकारी एवं जनमैत्री बनाउन सार्वजनिक सम्बोधन प्रणाली (पब्लिक एनाउन्समेन्ट सिस्टम) सञ्चालनमा ल्याएको छ ।
सोमवार एक कार्यक्रमबीच उक्त प्रणाली औपचारिक रूपमा सुरु गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले नयाँ प्रणालीले सेवाग्राहीलाई सहज तथा प्रभावकारी सेवा पाउन सकुन् भन्ने उद्देश्यले उक्त प्रणाली सञ्चालनमा ल्याइएको बताए । उनले परम्परागत सरकारी कार्यालयको संरचनामा कर्मचारी भित्र र सेवाग्राही बाहिर बस्ने व्यवस्था रहेकोले नयाँ मोडेलमार्फत भने कर्मचारी र सेवाग्राहीबीचको दूरी घटाएर एउटै स्थानमा बसेर सेवा प्रदान गर्ने व्यवस्था मिलाइने उनको भनाइ छ ।
उनले सेवाग्राहीको भिडभाड हुने अन्य सरकारी कार्यालयहरूमा समेत उक्त प्रणाली लागू गर्नुपर्ने आवश्यकता औँल्याए ।
उनले भने ‘आज जिल्ला प्रशासन कार्यालय काठमाडौँले समग्र सेवा प्रवाहका लागि, सुशासनको लागि, जनमैत्री सेवा, जबाफदेहिता, पारदर्शिता लगायत जेन–जी आन्दोलनपछि सशक्त रूपले जुन खालको आवाज उठेको थियो । त्यसलाई सम्बोधन गर्नेगरी हामीले सेवा प्रवाहको एउटा नवीनतम मोडेलको रूपमा पब्लिक अनाउन्समेण्ट सिस्टम ‘सार्वजनिक सम्बोधन प्रणाली’को विकास गरेका छौँ । त्यो मोडेलको जानकारी लिने, निरीक्षण गर्ने र सरकारका सबै सम्बन्धित कार्यालयहरूमा पनि यो मोडेललाई विस्तार गर्न सकिन्छ भन्ने अभिप्रायका साथ सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय गृहमन्त्रीज्यू लगायत विशिष्ट पदाधिकारीहरूबाट यस कार्यालयको अवलोकन, निरीक्षण गरिएको छ ।’
यस प्रणालीले सरकारी सेवा प्रवाहलाई थप व्यवस्थित, पारदर्शी र सेवामुखी बनाउन मद्दत विश्वास गरिएको उनको भनाइ छ । उक्त प्रणालीको सोमवार प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याललगायतले निरीक्षण समेत गरेका छन् ।








