न्यायाधीश पोखरेलविरुद्ध आचारसंहिता उल्लंघनको आरोप, न्याय परिषदमा उजुरी

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेल विरुद्ध न्यायिक आचारसंहिता उल्लंघन गरेको आरोप लगाउँदै न्याय परिषदमा उजुरी परेको छ ।
आइतबारदेखि न्यायाधीश शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गरी फिर्ता लिने विषयमा सुनुवाइ सुरु भएको थियो । सुनुवाइका क्रममा वरिष्ठ अधिवक्ताहरूले न्यायाधीश पोखरेल पहिले लामिछानेको वकिल भइसकेकाले उक्त रिट हेर्न नमिल्ने तर्क गरेका थिए ।
यही विषयलाई लिएर सोमबार युवराज सफलले न्याय परिषदमा उजुरी दर्ताका लागि निवेदन दिएका हुन् । उनले न्यायाधीश पोखरेलले उक्त मुद्दा हेरेर न्यायाधीश आचारसंहिता २०७४ को दफा ४ को उपदफा ४.५ (क), (ख) र (ग) उल्लंघन गरेको दाबी गरेका छन् ।
उजुरीमा न्यायाधीशले मुद्दाका कुनै पक्षप्रति विशेष आग्रह वा पूर्वाग्रह भएको अवस्थामा, विवादित विषयका प्रमाणसम्बन्धी तथ्यबारे व्यक्तिगत जानकारी भएको अवस्थामा वा विवादित विषयमा पहिले कानुन व्यवसायीको रूपमा काम गरेको अवस्थामा मुद्दा हेर्न नमिल्ने व्यवस्था रहेको उल्लेख गरिएको छ ।
सफलले न्यायाधीश पोखरेलले उक्त मुद्दामा सहभागी हुँदा निष्पक्ष सुनुवाइ र न्यायको अपेक्षा गर्न नसकिने दाबी गर्दै न्याय परिषदलाई तत्काल हस्तक्षेप गर्न माग गरेका छन् । उनले चैत २ गते तोकिएको सुनुवाइसहित मुद्दासम्बन्धी सम्पूर्ण प्रक्रिया रोक्न पनि निवेदनमार्फत आग्रह गरेका छन् । तर उक्त निवेदन न्याय परिषदमा औपचारिक रूपमा दर्ता भने भएको छैन ।
न्याय परिषदका सचिव जितेन्द्रबाबु थपलियाका अनुसार सर्वोच्च अदालतका न्यायाधीशविरुद्धको उजुरी परिषदको क्षेत्राधिकारभित्र नपर्ने भएकाले निवेदन दर्ता नगरिएको हो । उनले भने, “निवेदन आएको हो, तर सर्वोच्च अदालतका न्यायाधीशविरुद्ध पर्ने उजुरी हाम्रो क्षेत्राधिकारभित्र पर्दैन, त्यसैले दर्ता भएको छैन ।”








