चितवनमा ‘हनी ट्रयाप’को आरोपमा १८ युवतीसहित प्रेमी पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत पुरुषलाई प्रेमजालमा पारी (हनी ट्रयाप) लुटपाट र ब्ल्याकमेलिङ गरेको आरोपमा चितवन प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा चितवनको कालिका नगरपालिका-७, नमूना टोलकी १८ वर्षीया एनी तामाङ र सोही ठाउँका २५ वर्षीय विजय सुनार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र खनालका अनुसार उनीहरूलाई आइतबार भरतपुर महानगरपालिका-१० स्थित वीरेन्द्र क्याम्पस रोडबाट पक्राउ गरिएको हो । घटनाको विवरण अनुसार, अभियुक्त युवतीले फेसबुकमार्फत ती पुरुषसँग चिनजान गरी सामीप्यता बढाएकी थिइन् । सोही क्रममा गत फागुन २९ गते उनले पुरुषलाई भेट्न भन्दै कालिकाको जुटपानीस्थित मिठुचोकबाट गुम्बा जाने भित्री सडकमा बोलाएकी थिइन् ।

पुरुष त्यहाँ पुगेपछि युवती र उनका सहयोगी विजय सुनार मिलेर उनीमाथि कुटपिट गर्नुका साथै उनले चढ्ने बा.प्र.००४ प ५८८९ नम्बरको स्कुटर लुटेर फरार भएका थिए । लुटिएको स्कुटर फिर्ता लिन खोज्दा अभियुक्तहरूले पीडितसँग मोटो रकमको बार्गेनिङ गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । रकम नदिएमा उल्टै ‘जवरजस्ती करणी’ को झुटा मुद्दा हालेर फसाइदिने धम्की दिएपछि पीडित पुरुष प्रहरीको शरणमा पुगेका थिए ।

पीडितको उजुरीका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरी अहिले हिरासतमा राखेको छ । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको र उनीहरूविरुद्ध प्रचलित कानुन बमोजिम कानुनी प्रक्रिया अगाडि बढाइएको डीएसपी खनालले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =