स्वकीय सचिवलाई अध्यक्ष बनाउनु १०० प्रतिशत गलत : महावीर पुन

काठमाडौं । सरकारबाट बाहिरिने अन्तिम तयारीमा रहेकी प्रधानमन्त्री सुशीला कार्कीले जाँदाजाँदै आफ्नै प्रमुख स्वकीय सचिवलाई आकर्षक पदमा नियुक्त गरेपछि उक्त कदमको तीव्र आलोचना सुरु भएको छ । पूर्वमन्त्री तथा नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले प्रधानमन्त्रीको यस निर्णयलाई ‘१०० प्रतिशत गलत’ भन्दै तत्काल सच्याउन माग गरेका छन् ।

निर्वाचन सम्पन्न गराएर सत्ता हस्तान्तरण गर्ने चरणमा पुगेकी प्रधानमन्त्री कार्कीले आइतबार मात्रै आफ्ना प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष (कार्यकारी प्रमुख) पदमा नियुक्त गरेकी थिइन् । कार्की नेतृत्वकै मन्त्रिपरिषद्मा रहेर काम गरिसकेका पुनले आफ्नै पूर्वप्रधानमन्त्रीको कदमप्रति सार्वजनिक रूपमै असन्तुष्टि जनाएका हुन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै सांसद पुनले नवनियुक्त अध्यक्ष श्रेष्ठलाई उक्त पद अस्वीकार गर्न सुझावसमेत दिएका छन् । प्रधानमन्त्रीको इज्जत धुलोमा मिसिन नदिनका लागि भए पनि श्रेष्ठले पदको मोह त्याग्नुपर्ने उनको भनाइ छ । नातावाद र कृपावादले नै पुराना राजनीतिक दलहरूलाई बिगारेको स्मरण गराउँदै पुनले यस्तै गलत प्रवृत्तिको सिको गरे नयाँ दलहरू पनि कालान्तरमा पतन भएर जाने चेतावनी दिएका छन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोष जस्तो महत्त्वपूर्ण निकायको नेतृत्व पाएका श्रेष्ठ यसअघि पनि विवादरहित व्यक्ति भने होइनन् । प्रधानमन्त्रीको सचिवालयमा कार्यरत रहँदा आफ्नै श्रीमती र अन्य आफन्तहरूलाई नियुक्ति दिलाएको भन्दै उनको चर्को आलोचना भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =