संसदीय अभ्यास सिकाउन रास्वपाले नवनिर्वाचित सांसदलाई प्रशिक्षण दिने

काठमाडौं । भर्खरै सम्पन्न आम निर्वाचनबाट करिब दुई तिहाइ जनमतसहित ऐतिहासिक सफलता प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदहरूलाई संसदीय अभ्यास र कार्यविधिको विषयमा प्रशिक्षित गर्ने भएको छ ।

पार्टीले मंगलबार र बुधबार गरी दुई दिने अभिमुखीकरण कार्यक्रमको आयोजना गर्न लागेको हो । सांसदहरूको काम, कर्तव्य, अधिकारका साथै पार्टीको मूल नीति, दृष्टिकोण र आगामी कार्यदिशाबारे सुसूचित गराउने उद्देश्यले यो तालिम सञ्चालन गर्न लागिएको पार्टीले जनाएको छ । संसदीय मोर्चामा पार्टीको प्रस्तुतिलाई थप प्रभावकारी बनाउन र सबै सांसदको कार्यशैलीमा एकरूपता ल्याउन यो अभिमुखीकरण फलदायी हुने विश्वास लिइएको छ ।

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले दिएको जानकारीअनुसार दुवै दिन बिहान ठिक १० बजेदेखि प्रशिक्षण सुरु हुनेछ ।

हालै सम्पन्न निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ १२५ सिटमा सानदार जित हासिल गरेको छ । त्यसैगरी, समानुपातिक पद्धतिबाट ५७ जना सांसदको नाम सिफारिस भइसकेको छ । यद्यपि, समानुपातिकतर्फका सांसदहरूलाई निर्वाचन आयोगले आधिकारिक रूपमा निर्वाचित भएको प्रमाणपत्र वितरण गर्न भने बाँकी नै छ ।

प्रत्यक्ष र समानुपातिक गरी संघीय संसद्मा रास्वपाका कुल १८२ जना सांसदको बलियो उपस्थिति रहनेछ । यति ठूलो संख्यामा संसद्मा प्रवेश गर्न लागेका आफ्ना जनप्रतिनिधिलाई उत्तरदायी बनाउन र जिम्मेवारी बोध गराउन पार्टीले संसद् बैठकअगावै प्रशिक्षणको अभ्यास थालेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 2 =