समानुपातिकका ९ सांसद छान्न गृहकार्यमा प्रचण्ड-नेपाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले समानुपातिकतर्फका सांसदहरूको अन्तिम नामावलीलाई आज टुङ्गो लगाउने भएको छ । निर्वाचन आयोगले समानुपातिक सूची बुझाउन दिएको अन्तिम समयसीमा आजै सकिने भएकाले नेकपाले आफ्नो तयारीलाई तीव्र पारेको हो ।
गत फागुन २१ गते सम्पन्न निर्वाचनमा नेकपाले समानुपातिकतर्फ कुल ८ लाख ११ हजार ५७७ मत प्राप्त गरेको थियो । सोही मतका आधारमा पार्टीले समानुपातिक प्रणालीबाट ९ वटा सिट सुरक्षित गरेको छ । प्रत्यक्षतर्फ भने नेकपाले ८ स्थानमा जित हासिल गरेको थियो ।
नेकपाका नेता गिरीराजमणि पोखरेलका अनुसार पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले आज दिउँसोसम्ममा सांसदहरूको नामलाई अन्तिम रूप दिनेछन् । समावेशी सिद्धान्त र पार्टीको आन्तरिक सन्तुलनलाई ध्यानमा राख्दै उपयुक्त उम्मेदवार छनोटका लागि शीर्ष नेताहरू गृहकार्यमा जुटेको बताइएको छ ।
निर्वाचन आयोगले दलहरूलाई समानुपातिकको नामावली बुझाउन आजसम्मको समय उपलब्ध गराएको छ । नेकपा एमाले र श्रम संस्कृति लगायतका अन्य केही राजनीतिक दलहरूले यसअघि नै आयोगमा आफ्नो सूची बुझाइसकेका छन् । आयोगको समयसीमा भित्रै नेकपाले पनि आफ्नो तर्फका ९ जना सांसदको नाम सिफारिस गरी पठाउने तयारी गरेको छ ।









