गोरखा दुर्घटनाका मृतक र घाइते सबैको पहिचान खुल्यो

काठमाडौं । गोरखाको सहिद लखन गाउँपालिका-३ कान्टारमा शनिबार साँझ भएको भीषण सवारी दुर्घटनामा परी सात जना भारतीय तीर्थयात्रीको मृत्यु भएको छ । प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको दर्शन गरी फर्कने क्रममा तीर्थयात्री सवार माइक्रोबस सडकबाट झण्डै दुई सय मिटर तल खस्दा दुखद घटना घटेको हो ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मृत्यु हुने सातै जना भारतीय नागरिक हुन् र उनीहरूको घटनास्थलमै ज्यान गएको थियो । प्रहरी निरीक्षक राजन लम्सालले दिएको जानकारी अनुसार ज्यान गुमाउनेहरूमा ५८ वर्षीय मुतु कुमार, सोही उमेरका अनामलिक, ५९ वर्षीया मिनाक्षी, ५३ वर्षीया सिवगामी, ५७ वर्षीय बिजायल, ५८ वर्षीया मिना र ६० वर्षीया तमिलारशी रहेका छन् । मृतकहरूको विस्तृत ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रोबस शनिबार साँझ साढे सात बजेतिर मनकामनाबाट आबुखैरेनीतर्फ आउँदै गर्दा अनियन्त्रित भई कान्टारमा दुर्घटनामा परेको थियो । माइक्रोमा चालक र सह-चालकसहित कुल १६ जना सवार थिए । दुर्घटना लगत्तै स्थानीय र सुरक्षाकर्मीको टोलीले उद्धार कार्य सुरु गरेका थिए ।
दुर्घटनामा घाइते भएका चालक, सह-चालक र अन्य सात जना भारतीय यात्रीको अवस्था गम्भीर रहेको छ । घाइतेहरूलाई घटनास्थलबाट उद्धार गरी सुरुमा आबुखैरेनी अस्पताल लगिएको थियो । त्यहाँ प्रारम्भिक उपचार पश्चात् थप उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज (भरतपुर) पठाइएको प्रहरीले जानकारी दिएको छ ।
उपचाररत घाइतेहरूको नामावली :
१. चालक : लमजुङ सुन्दरबजार-१ का ४६ वर्षीय पुष्प मल्ल ठकुरी (अवस्था गम्भीर)
२. सह-चालक : लमजुङ बेसीशहर-३ का २९ वर्षीय सन्तोष गुरुङ (टाउको र अनुहारमा चोट)
३. ६२ वर्षीया सोरनम (भारत)
४. ६५ वर्षीय मंगदा जलम (भारत)
५. ७५ वर्षीया सुभाद्रा (भारत)
६. ६५ वर्षीया मयाल (भारत)
७. ७३ वर्षीया सरोजा (भारत)
८. ६५ वर्षीया भाग्यलक्ष्मी (भारत)
९. ३४ वर्षीया मिनाक्षी (भारत)









