एमालेभित्र ‘फेक आईडी’को आतंक : आफ्नै नेताहरूविरुद्ध खनिए योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीभित्रैबाट आफू लगायतका नेताहरूविरुद्ध भइरहेको अस्वस्थ टिप्पणी र भ्रामक प्रचारप्रति गम्भीर आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता भट्टराईले पार्टीका माथिल्लो तहका नेताहरूबाटै मिथ्या सूचना सम्प्रेषण गर्ने र घृणा फैलाउने कार्य भइरहेको दाबी गरेका हुन् ।
अध्यक्ष केपी शर्मा ओली पितृशोकमा रहेको संवेदनशील समयमा समेत पार्टीभित्र एक-अर्काप्रति नकारात्मक टिप्पणी हुनु अशोभनीय भएको उनले उल्लेख गरेका छन् । अध्यक्ष ओली शोकमा रहेका कारण पछिल्लो सचिवालय बैठक उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा सम्पन्न भएको जानकारी दिँदै उनले यस्तो शोकको घडीमा संयमता अपनाउनुपर्नेमा जोड दिएका छन् ।
भट्टराईले पार्टीभित्रैको संरक्षणमा कतिपय नक्कली फेसबुक आईडीहरू सक्रिय गराइएको आरोप लगाएका छन् । ‘यस बीचमा पार्टीका माथिल्लो तहका नेताहरूबाट म लगायत अन्य कमरेडहरूका बारेमा अनर्गल लान्छना लगाउने, घृणायुक्त अभिव्यक्ति दिने तथा मिथ्या सूचना सम्प्रेषण गर्ने काम भइरहेको छ,’ उनले भनेका छन्, ‘विशेषगरी ‘शरु शर्मा’ नामको नक्कली फेसबुक आईडी यो काममा निकै सक्रिय देखिएको छ ।’
पार्टीभित्र बढ्दै गएको गुटबन्दी र गालीगलौजको संस्कृतिलाई लक्षित गर्दै उनले ‘मिसइन्फर्मेसन’, ‘डिसइन्फर्मेसन’ र ‘हेट स्पीच’ तत्काल बन्द गर्न आग्रह गरेका छन् । उनले कार्यकर्ता र नेताहरूलाई आह्वान गर्दै भनेका छन्, ‘फेरि पनि भन्छु- आत्मभत्सर्ना होइन, जमेर आत्मसमीक्षा गरौँ ।’









