एशियाड फन रन सम्पन्न

काठमाडौँ । नेपालकी चर्चित कराते खेलाडी एरिका गुरुङसँगै विभिन्न खेलका राष्ट्रिय टोलीका सदस्यहरूको उत्साहजनक सहभागितामा शनिवार एशियन गेम्स फन रन सम्पन्न भएको छ ।

जापानाको आइची नागोया शहरमा आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ४ सम्म एसियाली खेलकुदको २० औँ संस्करण आयोजना हुँदै छ । सोही एशियाली खेलकुदको प्रवर्धन तथा सफलताका लागि शनिवार ललितपुरमा तीन किलोमिटरको फन रन भएको हो ।

ओलम्पिक काउन्सिल अफ एशिया (ओसीए) को कार्यक्रमअन्तर्गत नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आयोजना गरेको फन रन सातदोबाटोस्थित एनओसी भवनमा एक कार्यक्रम बीच सुरु भएको थियो । करातेकी एरिका गुरुङसँगै एसियाली खेलकुदको तयारीमा रहेका विभिन्न खेलका खेलाडीहरू उक्त फन रनमा उत्साहजनक रूपमा सहभागी भए ।

साथै राष्ट्रिय खेलकुद परिषद् (राखेप) की बोर्ड सदस्य अञ्जना श्रेष्ठ मास्के र डा. मधुसुधन सुवेदी, ओलम्पिक काउन्सिल अफ एशियाका डिपुटी डिरेक्टर विनोदकुमार तिवारी, आइची नागोया एसियन गेम्सको आयोजक कमिटीका मिडिया विभाग र पिआर निर्देशक फुमिहितो कानाइजुका र सोही विभागका म्यानेजर मानामी ओकुमुरा सहभागी थिए ।

उक्त फन रन बिएन बी हस्पिटल गेट, ग्वार्को चोक, प्रभात स्कुल, कनिबहा चोक, ओकुबहा, थैना, चक्रबही, हौग हुँदै पाटन दरबार स्क्वायर कात्तिक डबली मङ्गलबजारमा पुगेर टुङिगएको थियो । विभिन्न खेलका प्रशिक्षकसँगै ओलम्पियन, खेल संघका पदाधकारी, कूटनीतिज्ञ, सुरक्षा निकायका प्रतिनिधि, विद्यार्थी र सञ्चारकर्मी गरी करिब एक हजारले दौडमा सक्रिय रूपमा सहभागिता जनाएका थिए ।

उक्त कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले फर रन आइची नागोया एशियाडको प्रवर्द्धनका लागि मात्र नभई जापानमा हुने आगामी एशियाडमा नेपालको सहभागिता सन्देश दिलाउन र सो एशियाडको सफलताको कामनका लाग आयोजना गरिएको बताए ।

एनओसीका महासचिव राजीव श्रेष्ठले फन रन सफल बनाउने सबै पक्षलाई धन्यवाद दिँदै यो स्थानीय सामुदायिक सहभागितासहित ओलम्पिकको मान्यता र भावना बुझाउने अभियान पनि रहेको धारणा व्यक्त गरे । फन रनको समापन कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकी पनि प्रदर्शन गरिएको थियो ।

एनओसीले ओलम्पिक फन रनको आयोजना गरेको यो लगातार तेस्रो संस्करण हो । आगामी २० औँ एसियाली खेलकुदमा कुल ४३ खेलअन्तर्गत ६८ विधाका चार सय ६१ इभेन्टमा पदकका लागि प्रतिस्पर्धा हुनेछ । आइची नागोया एशियाडमा कुल ५३ प्रतियोगिता स्थल छन् । आगामी एशियाडमा केही समयअगाडि मात्र प्याडल र टेकबल गरी दुई खेल थप गरिएको छ । नेपालले आगामी एसियाली खेलकुदमा सहभागिताका लागि ३२ खेल दर्ता गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 5 =