बागमतीमा ढल मिसाउँदा देशलाई अभिशाप लाग्यो, शुद्धीकरणका लागि ४० दिने ‘दिव्य देव यात्रा’ गरिने

काठमाडौँ । पशुपतिनाथको चरणमा बग्ने पवित्र बागमती नदीमा ढल मिसाएर ‘शिव अपराध’ गरेको भन्दै यसबाट राष्ट्रलाई मुक्त गर्न ४० दिने ‘दिव्य देव यात्रा’ (पदयात्रा) आयोजना गरिने भएको छ ।
देवघाटधामस्थित महेश सन्यास आश्रमका अध्यक्ष १००८ स्वामी रमणानन्द गिरीले बागमती शुद्धीकरण र आध्यात्मिक जागरणको माग गर्दै उक्त पदयात्राको घोषणा गरेका हुन् ।
स्वामी रमणानन्द गिरीकाअनुसार पशुपतिनाथ सम्पूर्ण नेपालीहरूको आध्यात्मिक पहिचानका सूत्रधार हुन् । हिन्दु, बौद्ध (अवलोकितेश्वर) र किराँत (पारुहाङ) सबैका आराध्य देव पशुपतिनाथको जिब्रोको रसबाट प्रकट भएको मानिने बागमतीमा २०५० को दशकदेखि ढल मिसाइनु ठुलो ‘देव अपराध’ हो ।
भारतको अयोध्यामा रामललाले आफैँ मुद्दा लडेर अधिकार पाएको दृष्टान्त दिँदै स्वामी गिरीले पशुपतिनाथको पनि ‘देवाधिकार’ रहेको स्पष्ट पारे । राज्य र उपत्यकाका नागरिक दुवैलाई झकझकाउन सन्तहरूको अगुवाइमा ‘धर्मादेश’ जारी गरिने बताए । पशुपति क्षेत्रलाई राजनीतिक भागबण्डाको केन्द्र नबनाई विशुद्ध श्रद्धाको स्थान बनाउनुपर्नेमा स्वामी गिरीले जोड दिए ।
जबसम्म बागमती ढलमुक्त भएर शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउने अवस्था आउँदैन तबसम्म यो आध्यात्मिक र वैचारिक युद्ध चलिरहने बताए । यो युद्ध अरू कसैसँग नभई आफूले आफैँसँग र आफ्नै अव्यवस्थित राज्य व्यवस्थासँग भएको बताउँदै उनले यस महाअभियानमा साथ दिन सम्पूर्ण नागरिकलाई आह्वानसमेत गरे ।
उनले भने ‘बागमतीमा ढल मिसाइएपछि नेपालमा हत्या, हिंसा, विग्रह र अशान्ति बढेको छ, यो शिवद्रोह र अपराधको परिणाम हो । बागमती पशुपतिनाथको हो, यहाँको शुद्ध जलमा स्नान गर्न पाउनु भगवानको अधिकार हो । मान्छे र राजधानी त पछि आएका हुन् । हाम्रो धर्मादेश न्यायालयको परमादेशभन्दा माथि हुन्छ, किनकि यो कुनै बहुमतले परिवर्तन हुने कानुन होइन, शाश्वत र सनातन आस्था हो ।’
करिब ३५ देखि ४० दिनसम्म चल्ने यस परिक्रमा यात्रामा १०० जनाभन्दा बढी साधुसन्त, ब्रह्मचारी, बटुक र श्रद्धालुहरूको निरन्तर सहभागिता रहनेछ । कार्यक्रमअनुसार आगामी १५ गते साँझ पशुपतिनाथमा बागमतीको महाआरती, गंगा पूजन र प्राज्ञिक उद्बोधन सभा हुनेछ । १६ गते साँझ कुशेश्वर पुगेर १७ गते बिहान कुशेश्वरबाट मुख्य पदयात्राको आरम्भ गरिनेछ । यात्राका क्रममा गाउँ र सहरहरूमा धर्मसभा तथा जागरणका कार्यक्रमहरू आयोजना गरिनेछन् ।








