मैले त योगेश जी’लाई दाङमै बोलाएको थिएँ : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले उपमहासचिव योगेश भट्टराईको चुनावी जिम्मेवारीसम्बन्धी पछिल्लो अभिव्यक्तिको औपचारिक खण्डन गरेका छन् । निर्वाचनका क्रममा आफू जिम्मेवारीविहीन भएको र महासचिवसँग जिम्मेवारी माग्दा समेत नपाएको भनी भट्टराईले दिएको अभिव्यक्तिप्रति पोखरेलले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएका हुन् ।

महासचिव पोखरेलले सामाजिक सञ्जालमा लेख्दै भट्टराईको दाबीमा पूर्ण सत्यता नरहेको संकेत गरेका छन् । उनले भट्टराईलाई वक्ताका रूपमा माग भएका विभिन्न स्थानहरूमा खटिन आफूले व्यक्तिगत रूपमै अनुरोध गरेको उल्लेख गरेका छन् । पोखरेलका अनुसार उनले भट्टराईलाई आफ्नो गृहजिल्ला दाङमा समेत चुनावी प्रचारका लागि आउन निमन्त्रणा दिएका थिए ।

‘मैले उहाँलाई वक्ताका रूपमा माग भएका स्थानहरूमा मिलेसम्म गइदिन अनुरोध गरेको कुरा कतै उल्लेख भएको देखिनँ । अझ मैले समय मिलेमा दाङमा समेत आउन अनुरोध गरेको थिएँ । तर, त्यसबेला उहाँले ताप्लेजुङ जानुपर्ने बाध्यता सुनाउनुभएको थियो,’ पोखरेलले आफ्नो फेसबुक स्ट्याटसमा लेखेका छन् ।

भट्टराईले ताप्लेजुङ जानुपर्ने बताएपछि आफूले त्यसलाई स्वाभाविक रूपमा लिएको भए पनि अहिले आएर जिम्मेवारी नपाएको भनी सार्वजनिक भएका समाचारले आफूलाई आश्चर्यचकित बनाएको पोखरेलको भनाइ छ । मिडियामा भट्टराईको भनाइको आंशिक वा अधुरो अंश मात्र सम्प्रेषण भएका कारण यस्तो भ्रम सिर्जना भएको हुन सक्ने उनले अनुमान गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =