प्रकाश सपुत रास्वपाको समानुपातिक सांसद बन्ने सम्भावना न्यून

काठमाडौं । गायक प्रकाश सपुत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद बन्ने सम्भावना कमजोर देखिएको छ ।
संवैधानिक रूपमा संघीय संसदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य हुने भएकाले रास्वपाले समानुपातिक सूचीबाट अधिकांश महिला उम्मेदवार रोज्नुपर्ने अवस्थाले सपुतको सम्भावना घटेको हो ।
रास्वपाबाट प्रत्यक्षतर्फ १३ जना महिला निर्वाचित भइसकेका छन् । संघीय संसदको कुल १८२ सिटको ३३ प्रतिशत पु¥याउन समानुपातिकतर्फबाट थप ४८ महिला आवश्यक पर्छ । समानुपातिकमा ५७ सिट जितेको रास्वपाले ४८ जना महिला चयन गर्नुपर्ने हुँदा पुरुषतर्फ मात्र ९ सिट बाँकी रहने देखिन्छ ।
सपुतलाई बालेन्द्र साह (बालेन) को कोटाबाट दलित–जनजाति क्लस्टरको दोस्रो नम्बरमा बन्दसूचीमा राखिएको थियो । रास्वपाले दलित क्लस्टरबाट ८ जना सांसद लैजानुपर्ने भए पनि पुरुषतर्फ भने पहिलो नम्बरमा रहेका प्रकाशचन्द्र परियार मात्रै छनोटमा पर्न सक्ने स्रोतको दाबी छ ।
पुरुषतर्फ खसआर्य क्लस्टरबाट तीन जना लैजाने तयारी गरिएको बताइन्छ । यस क्लस्टरमा पहिलो नम्बरमा रमेश प्रसाईँ, दोस्रोमा सुदिप ढकाल र तेस्रोमा प्रमोद न्यौपाने छन् । रास्वपाका सहप्रवक्ता प्रसाईँको चयन लगभग निश्चित मानिएको छ । उनी पार्टीभित्र प्रखर वक्ताका रूपमा लोकप्रिय छन् र आन्तरिक प्राइमरी चुनावमा सर्वाधिक मत ल्याएका थिए ।
ढकाल बालेनको कोटाबाट सूचीमा परेका व्यक्ति हुन् भने न्यौपाने पार्टी सभापति रवि लामिछाने का रणनीतिकार तथा विश्वास पात्रका रूपमा चिनिन्छन् । बलियो राजनीतिक सुझबुझ र बौद्धिक क्षमताका कारण न्यौपानेलाई संसदमा लैजानुपर्ने मत पार्टीभित्र पनि बलियो रहेको बताइन्छ ।
आदिवासी–जनजाति क्लस्टरबाट रास्वपाले १६ जना सांसद चयन गर्नुपर्ने देखिन्छ । तर पुरुषतर्फ दुई जनाको मात्र सम्भावना छ । यसतर्फ पहिलो स्थानमा रहेका राम लामा सांसद बन्ने निश्चितप्राय मानिएका छन् । दोस्रो स्थानमा रहेका खुस्बुसरकार श्रेष्ठ को सम्भावना पनि बलियो छ । उनी रास्वपाका संस्थापक सदस्यहरूमध्ये एक हुन् ।
मधेशी क्लस्टरमा ९ जना सांसद चयन गर्नुपर्ने छ, जसमध्ये पुरुषतर्फ एक जना मात्रै पर्ने सम्भावना देखिन्छ । यसतर्फ पहिलो नम्बरमा रहेका पुरुषोत्तम सुप्रभात यादव छनोटमा पर्ने लगभग निश्चित मानिएको छ ।
थारु क्लस्टरमा चार सिट रहेको छ । महिलातर्फ बन्दसूचीमा दुई जना मात्रै रहेकाले पुरुषतर्फ दुई जना रोज्नुपर्ने अवस्था छ । यस क्लस्टरमा पहिलो स्थानमा रहेका सुरेन्द्र चौधरी सांसद बन्ने निश्चितजस्तै छ भने दोस्रो नम्बरमा रहेका प्रेमलाल चौधरी पनि छनोटमा पर्ने सम्भावना देखिन्छ ।
यसरी गणना गर्दा अब एक सिट मात्रै बाँकी रहन्छ । त्यो मुस्लिम क्लस्टरबाट भर्ने सम्भावना छ । मुस्लिम पुरुषतर्फ पहिलो नम्बरमा सैय्यद बकार अहमद साह छन् । तर तीन जना मुस्लिम महिला नै चयन गर्ने विकल्प पनि पार्टीसँग खुला छ । त्यसो भएमा सपुतका लागि एउटा सिट खाली हुन सक्छ, तर यस्तो सम्भावना कम रहेको स्रोत बताउँछ ।









