नेपाल आदिवासी जनजाति महासंघको ११ औँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा

काठमाडौँ । नेपाल आदिवासी जनजाति महासंघको ११ औँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ ।
महासंघले शुक्रवार पत्रकार सम्मेलन गरी महाधिवेशनको तयारी पूरा भएको जानकारी दिएको हो ।
महासंघको महाधिवेशन चैत ५ र ६ गते काठमाडौँमा हुँदैछ । महाधिवेशनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुहुने महासंघका महासचिव एवं महाधिवेशन प्रचारप्रसार तथा पत्राचार उपसमितिका संयोजक दिवस राईले जानकारी दिए ।
उनकाअनुसार चैत ५ नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा उद्घाटन र चैत्र ६ गते स्वयम्भू स्टार ब्याङ्केट, स्वयम्भू काठमाडौँमा बन्द सत्र हुनेछ । महाधिवेशनमा देशभरका आदिवासीजनजातिहरूले आ–आफ्ना भेसभुसामा नाचगान, झाँकी र ¥याली शहर परिक्रममा गर्नेछन् । भृकुटीमण्डपदेखि सांस्कृतिक झाँकी सहितको र्याली भद्रकाली, सुन्धारा, वीर अस्पताल, रत्नपार्क, जमल, घण्टाघर भएर नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौँको सभाहलमा प्रवेश गर्ने उनको भनाई छ ।
महाधिवेशनलाई सफल बनाउनका लागि विभिन्न उपसमितिहरू निर्माण गरिएको र यी उपसमितिहरूले अन्तिम तयारीका लागि कामहरू गरिरहेको उनले जानकारी दिए ।
महाधिवेशनको बन्दसत्रमा महासंघको संघीय सचिवालयका पदाधिकारीहरू, सल्लाहकारहरू, संघीय परिषद् सदस्यहरू, जातीय घटक सस्ताहरू, सम्बन्धित सङ्गठनहरू, प्रवास सङ्गठनहरू र प्रदेश तथा जिल्ला समन्वय परिषद्हरूबाट ५ सय भन्दा बढी प्रतिनिधि तथा पर्यवेक्षकहरूको सहभागिता रहनेछ ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा सूचिकृत ६० वटा आदिवासी जनजाति समुदायहरूमध्ये महासङ्घमा ५६ समुदायहरू आबद्ध छन् भने १२ वटा सम्बन्धन सङ्गठनहरू रहेका छन् । यसैगरी विदेशमा रहेका नेपालका आदिवासीजनजातिहरूको विदेशस्थित २५ वटा देशहरूमा यस महासंघका प्रवास सङ्गठनहरू रहेका छन् भने ७ वटा प्रदेश र ७७ वटै जिल्ला समन्वय परिषदहरुका मातहतमा ४ हजार भन्दा बढी स्थानीय पालिका र वडा तहका सङ्गठनहरू सञ्चालन भइरहेको महासंघले जनाएको छ ।
महासंघले आदिवासी समुदायलाई आफ्नो अधिकारको बारेमा सचेत गराउँदै आएको छ । महासंघको संस्थागत सुदृढीकरणका लागि यसको स्थायी कार्यालय भवन बनाउन लागेको पनि उल्लेख गरेको छ । भवन निर्माणको लागी ललितपुर महानगरपालिकामा जग्गा खरिद गरिसकेको पनि महासंघले जनाएको छ ।








