ग्यास सिलिण्डर अनावश्यक सञ्चितिले विद्यार्थी, मजदुरलाई समस्या पर्योः निगम

काठमाडौँ । नेपाल आयल निगमले शुक्रवारदेखि देशभर ग्यास अभाव हटाउन आधा भरिएको सिलिण्डर बजारमा पठाउन सुरु गरेको छ ।

देशमा ग्यास आयात खपत अनुसार नै भइरहे पनि उपभोक्तामा फैलिएको त्रासका कारण ग्यास सञ्चिति बढ्दा बजारमा वितरणमा समस्या देखिएपछि निगमले आधा भरीका सिलिण्डर बजारमा पठाएको हो ।

निगमका प्रवक्ता मनोज ठाकुरकाअनुसार सुरुमा चुनावको सन्दर्भलाई लिएर ग्यासको आपूर्तिमा समस्या हुनसक्ने आशंकाले उपभोक्ताले ग्यास जोहो गरेको र अहिले झन् सञ्चिति गर्ने क्रम बढ्दा अभाव चर्किँदै गएको बताए । उनकाअनुसार सुरुमा एक–दुई वटा कम्पनीको मात्रै ग्यास अभाव भएपनि अहिले अरू ग्यासहरुपनि नपाइने स्थिति आएपछि त्यसलाई सहजीकरण गर्न आधा सिलिण्डर बजारमा पठाइएको हो ।

निगमकाअनुसार देशमा ग्यास आयात भने खपत अनुसार नै भइरहेको छ । गत पुस महिनामा ४७ हजार मेट्रिक टन ग्यास आयात भएको थियो भने माघ महिनामा करिब ४६ हजार मेट्रिक टन ग्यास आयात गरिएको छ । नेपालको मासिक खपत करिब ४५ देखि ४६ हजार मेट्रिक टन ग्यास रहेको निगमले ठाकुरले जानकारी दिए ।

उनकाअनुसार यो महिनामा मात्रै फागुन २६ गतेसम्म करिब साढे ४६ हजार मेट्रिक टन ग्यास आयात भइसकेको छ ।

तर उपभोक्ताले सहज रूपमा ग्यास नपाएपछि समस्या समाधानका लागि निगमले बृहत् छलफल गरेर आधा सिलिण्डर ग्यास वितरण गर्ने निर्णय गरेको ठाकुरको भनाइ छ ।

ठाकुरकाअनुसार ग्यासको अभावको असर विशेषगरी हुनेखानेभन्दा विद्यार्थी र मजदुर वर्गमा बढी देखिएको छ । उनीहरूलाई एउटा ग्यास सिलिण्डर पाउन महिनौँ कुर्नुपर्ने अवस्था देखिएपछि उक्त समस्या समाधानका लागि ७।१ केजी ग्यास भरेर वितरण गर्ने निर्णय गरी कार्यान्वयनमा ल्याइएको छ ।

निगमका प्रवक्ता ठाकुरले भने ‘हाम्रो जति खपत छ, सोही अनुसार आयाल निगमले ग्यास ल्याइरहेको छ । चुनावमा के हुने हो भनेर उपभोक्ताले ग्यास जोहो गर्न थाले । त्यतिबेला एकदुई वटा कम्पनीको मात्रै ग्यास अभाव थियो । सञ्चारमाध्यममा ग्यास अभाव भनेर आइदिँदा उपभोक्तामा त्रास सिर्जना भयो र उपभोक्ता ग्यास सञ्चिततर्फ लागे । उपभोक्ताले त्यो सञ्चिति गर्दा कुनै असर परेको थिएन । तर अहिले सञ्चिति बढेसँगै अहिले अरू ग्यासको अभाव देखिन लाग्यो । त्यसलगतै इरानमा आक्रमण भयो र त्यसपछि विश्वभर नै ऊर्जा संकट हुने हो की भन्ने हिसाबले सञ्चारमाध्यममा आए । त्यसपछि नेपालमा पनि प्रभाव देखियो । आम उपभोक्तामा फेरि डर पैदा भयो । जसकारण उपभोक्ताले जोहो गर्न छाडेनन् । गत पुषमा ४७ हजार मेक्टिक टन ग्यास भएकोमा माघमा करिब ४६ हजार टन ग्यास आयात भएको छ । जुन हाम्रो खपत अनुसार नै हो । हाम्रो खपत भनेको ४५/४६ हजार मेक्टिक टन नै हो । फागुन २६ सम्म करिब साढे ४६ हजार मेक्टिक टन ग्यास आयात भइसकेको छ । जति खपत भइरहेको छ, त्यति ग्यास उपभोक्ताले सहज रूपमा ग्यास नपाएपछि बृहत् छलफल गरेर यसलाई सहज गराउन आधा सिलिण्डर ग्यास वितरण गरिएको हो । खासमा समस्या हुनेखाने भन्दा पनि विद्यार्थी, मजदुरलाई धेरै समस्या देखियो । उनीहरूले एउटा ग्यास पाउन महिनौँ कुर्नुपर्ने समस्या देखिएपछि त्यो समस्या हटाउन निगमले ७।१ केजीको ग्यास भरेर वितरण गर्ने निर्णय गरेको हो । पहिले फुल ग्यासको १९१० रुपैयाँ पर्ने गरेकोमा अब आधा ग्यास अर्थात् ७.१ केजीको ग्यासलाई ९५५ रुपैयाँ पर्नेछ ।’

ठाकुरकाअनुसार यसअघि पूर्ण सिलिण्डर ग्यासको मूल्य १ हजार ९ सय १० रुपैयाँ रहेकोमा अब आधा सिलिण्डर अर्थात् ७.१ केजी ग्यासको मूल्य ९५५ रुपैयाँ तोकिएको छ । युद्धका कारण अहिलेसम्म ग्यास तथा इन्धन आयातमा कुनै समस्या नआएको निगमको भनाइ रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =