देशमा राजनीतिक स्थिरताको चुनौती कायमै छ: अष्टलक्ष्मी शाक्य

काठमाडौं । नेकपा एमालेकी नेतृ तथा वागमती प्रदेशकी पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म चिरे पनि स्थिरताको प्रश्न भने अझै कायमै रहेको बताएकी छन् ।

११६ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भ पारेर मोतिदेवी स्मृति केन्द्रद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ शाक्यले देशको वर्तमान राजनीतिक परिस्थितिप्रति चिन्ता व्यक्त गरिन् । सबै नेपालीले देशलाई माया गर्नुपर्नेमा उनको जोड छ ।

देश कसरी अगाडि बढ्छ भन्ने आम नागरिकको जिज्ञासालाई सम्बोधन गर्दै उनले वर्तमानका चुनौतीहरुलाई सामना गर्न सम्पूर्ण नेपालीबीच एकताको आवश्यकता औंल्याइन् ।

नेतृ शाक्यले देश रहे मात्र नागरिकको अस्तित्व रहने कुरामा जोड दिइन् । देकशलाई माया गर्न र नेपाली–नेपालीबीच एकताको भावना विकास गर्न उहाँले सबैमा आह्वान गरिन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थायित्व दिन र संविधानले परिकल्पना गरेको समाजवादको लक्ष्यमा पुग्न राज्यले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।

समाजवादको गन्तव्यमा पुग्नका लागि शिक्षा, स्वास्थ्य, रोजगार, सुशासन र सामाजिक न्यायको क्षेत्रमा आमूल परिवर्तन ल्याउनुपर्ने र यसका लागि सबै पक्ष एकजुट भएर लाग्नुपर्ने नेतृ शाक्यले स्पष्ट पारिन् ।

नेतृ शाक्यले देशको समृद्धि, सुशासन र न्यायका लागि नेपाली महिलाहरु राजनीतिक दलको घेराभन्दा माथि उठेर एकजुट हुनुपर्ने बताइन् । महिलाहरु विभिन्न राजनीतिक पार्टीमा आवद्ध भएपनि राष्ट्रिय मुद्दामा उनीहरुको एउटै स्वर हुनुपर्ने बताइन् ।

संविधानले नै महिलाका हक अधिकारलाई सुरक्षित गरिसकेको र राज्यका हरेक निकायमा महिलाको पहुँच सुनिश्चित गर्दै लगेको अवस्थामा अब महिलाहरु चुप लागेर बस्न नहुने उनको भनाइ छ । नेपालको राजनीतिक इतिहासमा महिलाहरुले आफूलाई प्रमाणित गरिसकेको बताइन् ।

नेतृ शाक्यले महिलाहरुलाई केवल राजनीतिक दृष्टिकोणबाट मात्र हेर्न नहुने बताउँदै उद्यमशीलता, सामाजिक सेवा र अन्य विविध क्षेत्रमा सफलता हासिल गरेका महिलाहरुको योगदानको पनि कदर गर्नुपर्ने बताइन् ।

सबै महिला एक ठाउँमा बसेर अगाडि बढ्नुपर्ने आजको अपरिहार्य आवश्यकता रहेको बताउँदै उनले एकले अर्कालाई प्रेरित गरेर देश निर्माणमा लाग्नुपर्ने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 11 =