सामाजिक सञ्जालमा धम्की आएपछि अनेरास्वियुकी नेतृ प्रीती दाहालले दिइन् उजुरी

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्वियुकी सचिवालय सदस्य प्रीती दाहालले आफूलाई सामाजिक सञ्जालमार्फत विभिन्न प्रकारका धम्की आएको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराएकी छन् ।
दाहालले प्रतिनिधिसभा निर्वाचनका बेला एमालेका पक्षमा प्रचार–प्रसारमा सक्रिय रहँदै आएका कारण राजनीतिक पूर्वाग्रहसहित आफूलाई लक्षित गरी धम्की र गालीगलौज हुन थालेपछि कानुनी प्रक्रिया अघि बढाएको बताएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका केही समर्थकबाट निरन्तर मानहानी, अपमानजनक टिप्पणी तथा ज्यानसमेत मार्ने आशयका धम्की आएको उनको आरोप छ ।
दाहालले आफ्नो राजनीतिक विचार र तर्कको प्रतिवाद गर्न नसकेपछि केही व्यक्तिहरूले डर देखाएर आफूलाई चुप पार्ने प्रयास गरेको आरोप लगाइन् । उनले भनिन्, ‘कायरहरूको धम्कीले विचारको मशाल निभ्दैन। राजनीतिक आस्था र निष्ठा आक्रमणको विषय होइन, तर धम्की आएपछि कानुनी बाटो रोज्नु विवेकसम्मत निर्णय हो ।’
लामो समयदेखि संयमता अपनाउँदै आएको बताउँदै दाहालले बारम्बारको उक्साहट र व्यक्तिगत तहमा पुगेका अपमानजनक अभिव्यक्तिका कारण कानुनी बाटो रोज्न बाध्य भएको स्पष्ट पारिन् ।
दाहालले राजनीतिक असहमति लोकतान्त्रिक अभ्यासको हिस्सा भए पनि धम्की र हिंसात्मक अभिव्यक्ति समाजले स्वीकार गर्न नसक्ने बताइन् । आपसी सम्मान, तर्क र लोकतान्त्रिक संस्कृतिको रक्षा सबैको साझा जिम्मेवारी भएको उनको धारणा छ ।








