ब्राजिलमा इतिहासकै दुर्लभ घटना : एकै खेलमा २३ खेलाडीलाई रातो कार्ड

काठमाडौं । ब्राजिलको राज्यस्तरीय फुटबल प्रतियोगिता ‘क्याम्पियोनातो मिनेरो’ को फाइनल खेल सोमबार खेलमैदान नभई ‘रणभूमि’ मा परिणत भएको छ । खेलको अन्त्यतिर दुई टोलीका खेलाडीबीच भएको भीषण झडपपछि रेफ्रीले ऐतिहासिक निर्णय लिँदै दुवै पक्षका कुल २३ खेलाडीलाई रातो कार्ड देखाएर मैदानबाट निष्कासन गरेका छन् ।

प्रसिद्ध मिनेराओ स्टेडियममा भएको उक्त फाइनल भिडन्त क्रुजेरो इस्पोर्टे क्लब र एट्लेटिको मिनेरोबीच थियो । निर्धारित समयको खेलमा क्रुजेरोले १-० को जित निकाल्दै उपाधि त कब्जा गर्‍यो , तर खेलको सुखद अन्त्य भने हुन सकेन । खेल सकिनै लाग्दा सुरु भएको सामान्य विवादले उग्र रूप लिँदा मैदानमा कुटाकुट र हातहालाहालको स्थिति सिर्जना भएको थियो ।

यसरी सुरु भयो तनाव : खेलको अन्तिम क्षणमा क्रुजेरोका मिडफिल्डर क्रिस्टियन र एट्लेटिको मिनेरियोका गोलकिपर एभर्सनबीच मैदानमा टक्कर भएको थियो । एभर्सनले क्रिस्टियनलाई आक्रामक रूपमा धक्का दिएपछि दुवै टोलीका खेलाडीहरू आपसमा जाइलागेका थिए । स्थिति नियन्त्रण बाहिर गएपछि खेलका रेफ्री माथेउस क्यानडान्सानले मैदानमै सबैलाई कार्ड देखाउन सम्भव नभए पनि खेलपछि तयार पारिएको आधिकारिक प्रतिवेदनमा २३ खेलाडीलाई रातो कार्ड दिइएको उल्लेख गरेका छन् ।

निष्कासनमा पर्ने खेलाडीहरू
रातो कार्ड पाउनेमा विजेता टोली क्रुजेरोका १२ जना र एट्लेटिको मिनेरियोका ११ जना खेलाडी रहेका छन् ।

  • क्रुजेरो (१२ खेलाडी) : कासियो , फाग्नेर , फाब्रिसियो ब्रुनो , जोआओ मार्सेलो , विलाल्बा , काउआ प्रातेस , क्रिस्टियन , लुकास रोमेरो , मातेउस एनरिके , वालेस , गेर्सन र काइओ जोर्जे ।

  • एट्लेटिको मिनेरियो (११ खेलाडी) : एभर्सन , गाब्रिएल डेल्फिम , प्रेसीआदो , ल्याङ्को , रुआन ट्रेसोल्डी , जुनियर अलोन्सो , रेना लोदी , एलान फ्रान्को , एलान मिन्डा , कासिएरा र विश्वप्रसिद्ध खेलाडी हल्क ।

इतिहासकै दुर्लभ घटना
ब्राजिलियन फुटबलको इतिहासमा एकै खेलमा यति धेरै खेलाडी निष्कासित भएको यो सम्भवतः पहिलो र अत्यन्त दुर्लभ घटना हो । यद्यपि , विश्व फुटबलको रेकर्ड हेर्ने हो भने सन् २०११ मा अर्जेन्टिनाको एक खेलमा रेफ्रीले खेलाडी र बेन्चका सदस्यसहित कुल ३६ जनालाई रातो कार्ड देखाएका थिए । सोमबारको यस लज्जास्पद घटनापछि ब्राजिलका फुटबल अधिकारीहरूले दोषी खेलाडी र क्लबमाथि थप कडा कारबाहीका लागि अनुसन्धान अघि बढाउने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =