सर्लाहीको बलरामा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप, मतदान स्थगित

काठमाडौं । सर्लाहीको बलरा नगरपालिकामा चुनावी प्रतिस्पर्धाका क्रममा दुई पक्षबीच झडप भएपछि मतदान प्रक्रिया अवरुद्ध भएको छ । नगरपालिकाको वडा नं. ४ स्थित श्री प्राथमिक विद्यालय मतदान केन्द्रमा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबीच विवाद हुँदा स्थिति तनावपूर्ण बनेको हो ।
बिहानैदेखि सामान्य विवाद रहेको उक्त केन्द्रमा रास्वपाका उम्मेदवार अमरेशकुमार सिंह पुगेपछि तनावले उग्र रूप लिएको थियो । विपक्षी दलका कार्यकर्ताहरूले उम्मेदवार सिंहको उपस्थितिलाई लिएर विरोध जनाएपछि दुवै पक्षबीच भनाभन सुरु भएको थियो । विवाद बढ्दै जाँदा दुवै समूहबीच ढुंगा हानाहान भएको र केही व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ ।
झडपपछि सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै उक्त केन्द्रमा विगत आधा घण्टादेखि मतदान कार्य पूर्ण रूपमा रोकिएको छ । स्थितिलाई नियन्त्रणमा लिन र रोकिएको मतदान पुनः सुचारु गराउन सर्लाहीका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखसहितको टोली घटनास्थल पुगेको छ । सुरक्षा निकायका प्रमुखहरूले अहिले स्थानीय राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरी सहमतिको प्रयास गरिरहेका छन् । यसअघि बलरा नगरपालिका-१ मा पनि केहीबेर तनाव भएको थियो ।








