निर्वाचन विरोधी गतिविधिमा संलग्न नेकपा बहुमतका दुई नेता पक्राउ

काठमाडौं । मोरङमा निर्वाचन विरोधी गतिविधि गर्दै हिँडेका नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दुई नेता पक्राउ परेका छन् ।

बुधबार दिउँसो मोरङको सुन्दरहरैंचा नगरपालिका–१० बस्ने ५६ वर्षीय कृष्णप्रसाद चम्लागाईं र झापाको दमक नगरपालिका–५ बस्ने ३७ वर्षीय सुमन पौडेल पक्राउ परेका हुन् । प्रहरीका अनुसार चम्लागाईं मोरङ जिल्ला इन्चार्ज र पौडेल जिल्ला सचिव रहेका छन् ।

इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको टोलीले बुधबार दिउँसो कानेपोखरी गाउँपालिका–६ स्थित बुद्ध चोकमा निर्वाचन विरोधी गतिविधि गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिए ।

पक्राउ परेकाहरूको साथबाट को ६ प ५११६ नम्बरको मोटरसाइकल, विभिन्न कम्पनीका ५ थान मोबाइल फोन, पार्टीको १ थान झण्डा तथा निर्वाचन विरोधी १०७ थान पर्चा–पम्पलेट बरामद भएको प्रहरीले जनाएको छ ।

चौधरीका अनुसार बुधबार सुन्दरहरैंचा नगरपालिका–१० स्थित पूर्व–पश्चिम राजमार्गको उत्तरतर्फ फेला परेको होक्स बम (सर्वसाधारणलाई तर्साउन राखिएको नक्कली बम) घटनामा संलग्न भएको आशंकामा समेत उनीहरूमाथि अनुसन्धान भइरहेको छ । सोही स्थानमा शंकास्पद वस्तु फेला परेपछि जाँच गर्दा बम नभई रङको बट्टा रहेको खुलेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 11 =