आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिज स्थगित

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालमा आयोजना हुने नेपाल, ओमान र यूएईबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाले नेपालमा तय भएको उक्त सिरिज हाललाई स्थगित गरिएको जानकारी दिएका हुन् ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तराष्ट्रिय मैदानमा फागुन २६ देखि चैत ६ गतेसम्म सञ्चालन हुने तय भएको सिरिजका लागि युएई र ओमानको टोली नेपाल आउने कार्यक्रम थियो ।

प्रवक्ता लामाका अनुसार मध्यपूर्वको वर्तमान अवस्थालाई ध्यानमा राख्दै काठमाडौंमा मार्च १० देखि सुरु हुने भनिएको सिडब्ल्यसी लिग–२ का खेलहरू अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको हो ।

खाडी मुलुकमा हवाई मार्ग बन्द भएका कारण यूएई र ओमानका टोली नेपाल आउन समस्या भएपछि सिरिज स्थगित गर्नुपरेको क्यानले जनाएको छ । दुवै टोली शुक्रबारसम्म नेपाल आइपुग्ने तालिका थियो ।

सिरिजका लागि नेपालले २० सदस्यीय प्रारम्भिक टोली घोषणा गरिसकेको थियो भने टोली हाल बन्द प्रशिक्षणमा व्यस्त रहेको छ ।

लिग–२ को अंकतालिकामा नेपाल २० खेलबाट १२ अंकसहित पुछारबाट दोस्रो अर्थात् सातौं स्थानमा रहेको छ । पुछारमा रहेको यूएईको १० अंक छ भने ओमान २४ अंकसहित चौथो स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 6 =