निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीको निधनप्रति आयोगद्वारा शोक व्यक्त

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी र व्यवस्थापनका क्रममा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीहरूको निधन भएको घटनाप्रति निर्वाचन आयोगले दुःख व्यक्त गरेको छ ।

निर्वाचनको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कार्यक्षेत्रमा खटिएका राष्ट्रसेवकहरूको निधनले आयोगलाई स्तब्ध बनाएको बताएका हुन् ।

मतदान प्रक्रियाको तयारीका सिलसिलामा देशका विभिन्न भागमा केही दुःखद घटनाहरू भएका उनले बताए । उनकाअनुसार रामेछाप जिल्लामा निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन सामग्री लिएर मतदान केन्द्रतर्फ जाँदै गरेको सवारी साधन दुर्घटनामा पर्दा सुरक्षाकर्मी र मतदान अधिकृतको ज्यान गएको छ ।

त्यसैगरी, आफ्नो कार्यक्षेत्रमै अहोरात्र खटिएको अवस्थामा सर्लाही र मुस्ताङ जिल्लामा मतदान अधिकृतहरूको निधन भएको छ भने कञ्चनपुरमा एक जना निर्वाचन प्रहरीले ज्यान गुमाएका छन् । लोकतान्त्रिक महायज्ञलाई सफल पार्न आफ्नो ज्यानको बाजी लगाएर कर्तव्य पालन गर्ने क्रममा उनीहरूको निधन भएको उनले बताए ।

उनले भने ‘मतदान प्रक्रियाको तयारीका सिलसिलामा केही दुःखद घटनाहरू समेत घटेका भएका छन् । रामेछापमा निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन सामग्री लिएर मतदान केन्द्र जाने क्रममा भएको सवारी दुर्घटनामा सुरक्षाकर्मी तथा मतदान अधिकृतको निधन भएको छ । त्यसैगरी कार्यक्षेत्रमै खटिएको अवस्थामा सर्लाही एवं मुस्ताङ जिल्लामा मतदान अधिकृत र कञ्चनपुरमा निर्वाचन प्रहरीको निधन भएको छ । निधन भएका कर्मचारी तथा सुरक्षाकर्मीप्रति आयोग हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा संवेदना प्रकट गर्दछ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछ । निर्वाचन केवल आफ्ना प्रतिनिधि छान्ने वा सरकार गठन गर्ने प्रक्रिया मात्र होइन, लोकतान्त्रिक वैधता नवीकरण गर्ने संवैधानिक अभ्यास समेत हो । आफ्नो मताधिकार प्रयोग गर्नु संवैधानिक, कानुनी अधिकार मात्र होइन लोकतन्त्रप्रतिको नागरिकको जिम्मेवारी हो । निर्वाचन भनेको नागरिकले आफ्ना प्रतिनिधि छान्ने, सरकार निर्माण गर्ने र शासन सञ्चालनमा सहभागी हुने, कानुन निर्माण र राज्य सञ्चालनका प्रक्रियामा प्रत्यक्ष संलग्न हुने शुभ अवसर पनि हो । यो प्रक्रियाको पूर्णताले मतदातामार्फत नागरिकले नीति, नेतृत्व र शासनको अभिव्यक्ति र समावेशी तथा उत्तरदायी राज्य निर्माणमा प्रत्यक्ष योगदान पु¥याउने भएकोले यस ऐतिहासिक लोकतान्त्रिक अभ्यासमा उत्साहपूर्वक सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्न सम्पूर्ण मतदाताहरूमा निर्वाचन आयोग हार्दिक अपिल गर्दछ ।’

निर्वाचन सामग्री ढुवानी र व्यवस्थापनका क्रममा भएका दुर्घटनामा परी घाइते भएका सम्पूर्ण कर्मचारी तथा सुरक्षाकर्मीहरूको स्वास्थ्य लाभको कामना समेत आयोगले गरेको छ । विषम परिस्थिति र कठिन भूगोलका बाबजुद पनि राष्ट्रसेवक कर्मचारी र सुरक्षा निकायले देखाएको समर्पणले नै निर्वाचन सम्भव भएको भन्दै उनीहरूको योगदानको आयोगले उच्च मूल्याङ्कन गरेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 19 =