अमेरिकी-इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय : इरान

काठमाडौं । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलबार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय भएको बताएका छन् । हालैका अमेरिकी र इजरायली आक्रमणबाट क्षतिग्रस्त भएको तेहरानस्थित एउटा विद्यालयमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा उनले युद्ध अन्त्यका लागि इरानका पूर्वशर्तहरूका बारेमा टिप्पणी गर्दै यस्तो धारणा राखेका हुन् ।
उनले इरानको कूटनीतिक संयन्त्रले सरकारको समर्थनमा कूटनीतिको बाटो पछ्याएको र युद्ध टार्न अन्तिम क्षणसम्म सक्दो प्रयास गरेको भए पनि अर्को पक्षले युद्ध सुरु गर्ने निर्णय गरेको बताए । बाघेईले पश्चिम एसिया क्षेत्रमा युद्धको दायरा विस्तार हुनुभन्दा अगाडि नै अन्तर्राष्ट्रिय समुदायले समयमै उचित निर्णय लिनुपर्नेमा जोड दिए ।
केही अरब राष्ट्रहरूले अमेरिकासँग मिलेर इरान विरोधी गठबन्धन बनाउन सक्ने सम्भावनाको बारेमा सोधिएको प्रश्नमा उनले तेहरानको सैद्धान्तिक नीति छिमेकीहरूसँग सुमधुर सम्बन्ध कायम राख्नु भएको उल्लेख गरे । उनले अमेरिकाविरुद्ध इरानका कारबाहीहरू कुनै पनि हालतमा क्षेत्रीय राष्ट्रहरूप्रतिको शत्रुताको संकेत नभएको प्रष्ट पारे । बाघेईले इरानमाथि अन्यायपूर्ण र बिना कुनै कारण आक्रमण गरिएको बताउँदै आवश्यक कदम नचालेमा युद्धको ज्वाला जताततै फैलिने चेतावनी दिए ।
गत शनिबार बिहान तेहरान र अन्य इरानी सहरहरूमा अमेरिका र इजरायलले गरेको संयुक्त हवाई आक्रमणमा सर्वोच्च नेता अली खामेनी, उनका परिवारका केही सदस्य, वरिष्ठ सैन्य कमाण्डरहरू र सर्वसाधारणको मृत्यु भएको थियो । यसको प्रतिक्रिया स्वरूप इरानले इजरायल र मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गरी विभिन्न चरणमा मिसाइल र ड्रोन आक्रमणहरू गरेको थियो ।








